(काठमाडौं) – नर्सिङ अनुमतिपत्रका लागि भएको मोलमोलाइबारे आवश्यक छानबिन भइरहेको नेपाल नर्सिङ परिषदले जनाएको छ । परिषदकी रजिष्ट्रार बिन्दा घिमिरेले बिहीबार विज्ञप्ति जारी गर्दै सम्बन्धित सदस्यसँग सोधपुछ गरेको र वास्तविकताबारे छानबिन गरिरहेको बताईन ।
नर्सिङ अनुमति परीक्षाको विषयलाई लिएर परिषदका सदस्यले पैसा मोलमोलाइ गरेको विषय सार्वजनिक सम्बन्धमा सम्बन्धित सदस्यसँग सोधपुछ गरेको र वास्तविकताबारे छानबिन गरिरहेको उनले बताईन ।
विज्ञप्तिमा भनिएको छ, “सदस्यले लिखित रूपमा यो विषयमा परिषद्लाई जानकारी गराउनुभएको छ र आफ्नो ‘फेक आइडी’ बनाएर आपराधिक समूहले सोे काम गरेको परिषद्लाई जानकारी गराउनुभएको छ । फेक आइडी बनाउने समूहको पहिचान गरेर कानूनी कारवाहीका लागि सम्बन्धित निकायमा उजुरीसमेत दिइसकेको छ । यसको वास्तविकताबारे परिषदले पनि आवश्यक छानबिन गरिरहेको छ ।”
परिषदका रजिष्ट्रार घिमिरेले प्रभाव र पहुँचका आधारमा नतिजा प्रभावित नभई परीक्षा निष्पक्ष हुने हुँदा यस्ता भ्रमपूर्ण हल्लाका पछाडि नलाग्न सम्बन्धित सबैमा आग्रह गरिन् ।