काठमाण्डौं – निषेधाज्ञाका कारण पशुपालन गरेर दुध ब्यबसाय गरिरहेका किसानहरुले २० अर्ब नोक्सान व्यहार्नुपरेको बताएका छन् । मंगलबार कृषि पत्रकारहरूको साझा फोरम अनाजद्वारा आयोजित भर्चुअल अन्तर्क्रियामा सहभागी दुग्ध व्यवसायीले यस्तो दाबी गरेका हुन् ।
उक्त्त कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटाले निषेधाज्ञाका कारण दूध बिक्रीमा आएको गिरावटले २० अर्बभन्दा बढी नोक्सान व्यहार्नुपरेको बताए । उनले दूध संकलनमा समेत ३० प्रतिशत ह्रास आएको बताए । देशभर सहकारीमा दैनिक ६ लाख लिटर दूध संकलन हुने र निषेधाज्ञा अवधिमा ३० प्रतिशत घटेको उनको भनाइ छ ।
कोरोनाका कारण डेरी तथा दुग्ध उद्योग क्षेत्रका ६० प्रतिशत बजार गुमेको संघको तथ्यांक छ । दुग्ध संकलनमा ह्रास, बजारमा गिरावट र अर्बौं नोक्सान व्यहोर्नुपरे पनि डेरीबाट बिक्री–वितरणलाई भने निरन्तता दिइरहेको देवकोटाले बताए ।
यस्तै कार्यक्रममा बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले किसानको समस्या समाधानका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताए । ‘कोरोना महामारीका कारण डेरी क्षेत्रमा मात्र नभई समग्र किसान मारमा परेका छन्,’ उनले भने, ‘सबैका समस्या समाधानका लागि मिलेर अघि बढ्नुको विकल्प छैन ।’ उत्पादित कृषिजन्य वस्तुको बजार गिरावटसँगै नष्ट गर्नुपर्ने बाध्यकारी अवस्थाका कारण किसान निकै मारमा परेको मन्त्री लामाको भनाइ छ ।
उनले किसानलाई राहत उपलब्ध गराउनेबारे सरकारले छलफलसँगै प्रक्रिया अघि बढाउने तयारी गरिरहेको बताए ।