नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

39

काठमाडौं – मुलुकको कूटनीतिक इतिहासकी धरोहर तथा पहिलो महिला राजदूत विन्देश्वरी शाहको बिहीबार ९२ वर्षको उमेरमा निधन भएको छ।

परराष्ट्र मन्त्रालयकी प्रथम महिला अतिरिक्त सचिवबाट अवकाश पाएकी शाहको निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्।

शाहले विद्यालय शिक्षा भारतको दार्जिलिङस्थित सेन्ट हेलेन्स कन्भेन्ट स्कुलबाट गरेकी थिइन्। उनले सोही स्कुलबाट सिनियर क्याम्ब्रिज कोर्स पनि पूरा गरिन्। शाह अमेरिका (कोलम्बिया युनिभर्सिटी) बाट स्नातक गर्ने पहिलो नेपाली महिला पनि हुन्। सन् १९५८ मा जोन्स हप्किन्स युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिमा डिग्री पूरा गरेपछि अमेरिकाबाट स्नातकोत्तर गर्ने पहिलो नेपाली महिला पनि थिइन्।

‘न्युयोर्क हेराल्ड ट्रिब्युन’ को तर्फबाट अमेरिका जाने सूचीमा छनोट हुनु, अमेरिकी राष्ट्रपतिसँग भेट गर्ने पहिलो नेपाली महिला, लाइब्रेरियन विज्ञान अध्ययन,  प्रतिष्ठित अमेरिकी विश्वविद्यालयबाट डिग्री हासिल र नेपाल फर्केर राष्ट्रिय पुस्तकालयमा लाइब्रेरियन बनेर नेपालको लाइब्रेरीलाई व्यवस्थित बनाउन पहल गर्ने एक प्रतिभाशाली महिलाका रूपमा शाह चिनिएकी थिइन्।

२०४४ सालमा उनी भारतका लागि राजदूत थिइन्। नयाँदिल्लीमा राजदूत छँदै परराष्ट्र मन्त्रालयको सहसचिव पदबाट अतिरिक्त सचिवमा उनी बढुवा भएकी थिइन्। जनआन्दोलन लगत्तै सरकारले उनलाई राजदूतबाट फिर्ता गरेको थियो। शाहले २०४५ को भारतीय नाकाबन्दीका बेला नयाँदिल्लीमा नेपालका लागि राजदूतका रूपमा नाकाबन्दी हटाएर नेपाल–भारत सम्बन्धलाई सामान्य अवस्थामा फर्काउन भूमिका खेलेकी थिइन्।

उनका दुई छोराहरू अनिलकेशरी शाह र उज्ज्वल शाह हुन्। छोरा अनिलकेशरी पूर्वबैंकर तथा रास्वपाका नेता हुन्। अर्का छोरा उज्ज्वलको निधन भइसकेको छ।

समाचार वर्गहरू