काठमाडौं – त्रिकोणात्मक टी- ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज (मंगलबार) टेष्ट राष्ट्र जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ ।
सिंगापुरमा जारी सिरिज अन्तर्गत पहिलो खेलमा पराजय व्यहोरेको नेपालले मंगलबार पुनः जिम्बावेविरुद्ध खेल्न लागेको हो । इन्डियन एसोसियसनको मैदानमा नेपाल र जिम्बावेबीचको खेल साँझ सवा ५ बजे सुरु हुनेछ ।
नेपाल पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा मैदान उत्रने छ । गत शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।
जिम्बावेलाई हराएर नेपाल सिरिजको उपाधि होड बलियो बनाउन चाहन्छ । सिंगापुरले जिम्बावेलाई हराएसँगै नेपाल तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको थियो । नेपालले २ खेलमा १ जित र १ हारसहित २ अंक जोडेको छ । नेपालले सिंगापुरलाई भने ९ विकेटले हराएको थियो ।
सिरिजको तालिकामा जिम्बावेले पनि २ खेलमा २ अंक जोडेको छ । तर, नेपाल नेट रन रेटको आधारमा शीर्ष स्थानमा छ । सिंगापुरको पनि २ अंक छ । त्यसैले ३ वटै टिमले सिरिजको उपाधि जित्ने सम्भावना छ । डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छन् ।