काठमाडौं – नेपाल संवत ११४१ सुरु भएको छ । नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंङ्खधर साख्वाले विसं ९३७ इसापूर्व ८८० मा गरीब जनताको ऋणमोचन गरी नेपाल संतवको शुरुवात गराएका थिए ।
नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको इतिहासविद् बताउँछन् । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो ।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, सिन्धुपाल्चोकको बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा नेपाल संवतलाई नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।
गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । विक्रम संवत् २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।
नेपाल संवतको नयाँ वर्षमा काठमाडौं उपत्यकाका साथै नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणको महामारीका कारण अघिल्ला वर्षहरुमा जस्तो उल्लास छैन ।
नेपाल संवतको नयाँ वर्ष ११४१ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल लगायतले शुभकामना सन्देश दिएका छन् ।