सिन्धुपाल्चोक – जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र विपद् व्यवस्थापन समिति कमाण्ड पोष्टले विपद्को समयमा हुनसक्ने जोखिम न्यूनीकरण गर्न र सम्भावित जोखिमबाट बचाउन पूर्व सूचना प्रणाली स्थापना गर्ने पहल शुरु गरेको छ ।
छिमेकी मुलुक चीनको न्यालम हिमताल रहेको क्षेत्रमा दुइदिनदेखी लगातार वर्षा भइरहेकाले न्यालम क्षेत्रका विभिन्न ताल फुट्नसक्ने जानकारी प्राप्त हुनासाथ बुधबार जिल्ला विपद् व्यवस्थापन समिति कमाण्ड पोष्टको बैठक बसेको हो । बैठकमा चीनसँग कूटनीतिक पहल गरी आवश्यक व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने सहमती भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
चीनको न्यालमस्थित उच्च हिमाली ठाउँका विभिन्न तालमा पानीको सतह केही घट्दै गएको भनी चिनियाँ अधिकारीबाट अनौपचारिक सूचना प्राप्त भए पनि निरन्तर वर्षा भइरहेकोले ताल फुट्न सक्ने खतरा अझै टरिनसकेको छैन । जसका कारण भोटेकोशी नदीको वहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रका वासिन्दालाई सावधानी अपनाउन प्रजिअ ढकालले आग्रह गरेका छन् ।