काठमाडौं – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१ र पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय छ।
सरकारले फिलिपिन्समा आयोजना हुने ‘फेस टु फेस मिटिङ’ मा २०८१ साल पुस २८ देखि माघ २ गतेसम्म नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा रहेको १३ सदस्यीय नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने र विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा छत्रबहादुर कटुवाल (बाजुरा) लाई नियुक्त गर्ने पनि निर्णय गरेको छ।
सरकारले हिल्सा–सिमिकोट सडकको सल्लीसल्ला–सिमिकोट खण्डको कडा चट्टान रहेको आठ सय मिटर लम्बाइको सडक निर्माण र चुवा खोलामा बेलीबृज निर्माण कार्य नेपाली सेनाबाट गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिइएको छ।
मन्त्रिपरिषद्ले राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा ध्रुव आचार्य (रूपन्देही) लाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता गुरूङले जानकारी दिए।
कानेपोखरी गाउँपालिका मोरङको केन्द्र वडा नं ६ बयरवनलाई परिवर्तन गरी वडा नं ५ भौसाबारी कायम गर्ने, खानेपानी तथा सरसफाइ नियमावली, २०८१ स्वीकृत गर्ने, निकासी पैठारीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने र राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।