काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । राजधानीमा बोलाइएको सो बैठकमा देशभरका केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाल पक्षले जनाएको छ।
नेपाल कम्यनिस्ट पार्टी (एमाले) ओली पक्षले पार्टी वरिष्ठ नेता माधव नेपाल पक्षले बिहीबार केन्द्रीय कमिटी बैठक बोलाएकोप्रति आपत्ति जनाएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार साँझ एक प्रेस वक्तव्य जारी गर्दै बिहीबार पार्टीको केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको समेत जनाएका हुन् ।
“केन्द्रीय कमिटीको नामबाट साउन २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकाले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । साउन २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछ । पटकपटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरूमा अपिल गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।