३६ जिल्लाका ५९ सहरमा फोरजी सेवा सुरु

18
तस्बिर : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय

काठमाडौँ — नेपाल टेलिकमले मुलुकभरका ३६ जिल्लाका ५९ सहरमा फोरजी सेवा सुरु गरेको छ । सातै प्रदेशमा फोरजी सेवा विस्तार गर्ने आफ्नो महत्वाकांक्षी परियोजनाको पहिलो चरणमा बुधबार टेलिकमले ३६ जिल्लाका ५९ मुख्य सहरमा सेवा सुरु गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग फोरजीको प्रयोग मार्फत भिडियो कुराकानी गर्दै सेवाको शुरुवात गरे । आगामी चार महिनाभित्र सबै जिल्लामा फोरजी सेवा विस्तार गर्ने लक्ष्य टेलिकमको छ । काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा यसअघिदेखि नै सञ्चालनमा आएको थियो ।

अहिले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर फोरजी सेवा विस्तार गरिएको टेलिकमले बताएको छ । त्यसयता टेलिकमले अन्य सहरमा फोरजी सेवा विस्तार गर्न सकेको थिएन । टेलिकमले सार्वजनिक गरेको फोरजी विस्तार भएका सहरको सूचीमा तराईका जिल्लाहरू बढी छन् ।

फोरजी सेवा विस्तारका लागि टेलिकमले गत माघ २० गते एक चिनियाँ र हङकङस्थित कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । करिब १९ अर्ब लागत रहेको परियोजना एक वर्षमा पूरा गर्ने लक्ष्यका साथ काम भएको टेलिकमले जनाएको छ ।

टेकिलमका प्रबन्ध निर्देशक डिल्लीले भ्वाइसओभर एलटीई सेवा पनि छिटै संचालन गरिने बताए । टेकिलमले विस्तार गरेको फोरजीले टेलिकमको राजश्व बढाउन, ग्राहकलाई थप स्तरीय सेवा दिन र कम्पनीलाई बलियो बनाउन सघाउने उनले बताए ।

फोरजी सेवा विस्तार नहुँदा डाटातर्फको बजार गुम्दै गएकाले बढी जनसंख्या भएको क्षेत्रलाई प्राथमिकता दिइएको हो । टेलिकमले विस्तार गरेको सेवामा उच्च गतिको इन्टरनेटका साथै उच्च गुणस्तरको भ्वाइस कल सेवा पनि उपयोग गर्न सकिने प्रविधि रहेको टेलिकमले जनाएको छ ।

इन्टरनेटको गति उच्च हुने हुँदा गुणस्तरीय श्रव्यदृश्य सामग्रीहरू र बढी ब्यान्डविथ आवश्यक हुने इन्टरनेट सामग्रीहरू प्रयोग गर्न सहज हुने विश्वास टेलिकमले लिइएको छ । फोरजी सेवाका लागि छुट्टै महसुल दर नतोकिएको टेलिकमले जनाएको छ । ‘थ्रीजी र टुजी सेवाकै दरमा फोजी सेवा प्रयोग गर्न सकिन्छ,’ टेलिकमले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ । आफूले सेवा विस्तार गरेको फोजीको प्रचलित नाम एलटीई एड्भान्स भएको टेलिकमले जनाएको छ । विस्तारित फोजीको डाटा स्पिड २ सय ४७ एमबीपीएस छ भने औसत डाटा स्पिड १ सय ३० एमबीपीएस रहेको टेलिकमले जनाएको छ । हाल टेलिकमका फोजी ग्राहक संख्या ८ लाख छन् ।

फोरजी विस्तार भएसँगै यसका ग्राहकमा बढोत्तरी हुने टेलिकमले जनाएको छ । टेलिकमले विस्तार गरेको फोजी सेवा लिनका लागि प्रयोगकर्तासँग यो प्रविधि सपोर्ट गर्ने स्मार्टफोन हुनुपर्छ । सामान्य रूपमा बुझ्दा अहिले बजारमा पाइने १५ हजार मूल्य माथिका करिब सबै स्मार्टफोनले यो प्रविधि सपोर्ट गर्छ । फोजी सेवा सुचारु गर्न कुनै शुल्क नलाग्ने टेलिकमले जनाएको छ ।

कार्यक्रममा टेलिकमका सञ्चालक समिति अध्यक्ष महेन्द्रमान गुरुङले यो सेवको विस्तार फोरजी मात्रै नभएर फाइभजी सेवाका जग समेत भएको उल्लेख गरे ।

कार्यक्रममा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारी कम्पनी भएकाले नागरिलाई सस्तो र भरपर्दो सेवा दिन टेलिकममाथि दबाब रहेको भन्दै कम्पनीले त्यो चुनौतीलाई पार लगाउनुपर्ने बताए ।

फोरजीरएलटीई सेवा आगामी माघसम्म देशका सबै भागमा विस्तार गर्ने लक्ष्य टेलिकमले राखेको छ । गत माघमा सम्झौता भए बमोजिम नै एक वर्ष्भित्र देशभर उक्त सेवा पुर्याउने लक्ष्य साथ काम भइरहेको टेलिकमले जनाएको छ ।

टेलिकमको फोरजी सेवा कसरी लिने :

नयाँ विस्तार भएका स्थानमा ग्राहले यो सेवा पाउन सुरुमा सेवा दर्ता गर्नुपर्छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहक *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् ।

ग्राहकले *444# डायल गर्दा आफ्नो सिम फोरजी सेवाका लागि परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् । यो नम्बरमा रिक्वेस्ट गर्दा फोरजी सेवा एक्टिभ नहुने अवस्थाको सिम भए नयाँ लिन अनुरोधसहित नोटिफिकेशसन आउनेछ । ग्राहकले नजिकैको टेलिकमको ग्राहक सोव केन्द्रमा गएर सिम परिवर्तन गर्न सक्नेछन् ।

फोरजी/एलर्टी सेवा सञ्चालन भएका जिल्लाहरु :

धनकुटा, झापा, मोरङ, सुनसरी, बारा, चितवन, धादिङ, धनुषा, दोलखा, काभ्रेपलाञ्चोक, महोत्तरी, मकवानपुर,  नुवाकोट, पर्सा, रामेछाप, रसुवा, रौतहट, सर्लाही, सिन्धुली, बागलुङ, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत,  रुपन्देही, बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, तनहुँ, मुस्ताङ, लमजुङ, सप्तरी

समाचार वर्गहरू