काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा मतदान हुने कार्यसूचीको एक दिन अघि नै राजीनामा दिएका छन् ।
गुरुङको राजीनामापछि गण्डकीमा फेरि लुम्बिनी प्रकरण दोहोरिन्छ की भन्ने चर्चा पनी चल्न थालेको छ । तर, यसपटक राजीनामा दिएका पृथ्वीसुब्बा गुरुङलाई बहुमत सदस्यको साथ भने छैन । एमाले एकै ठाउँमा उभिंदा ३ सिट भएको जनमोर्चा र दुई सिट भएको जसपाले साथ दिए मात्र फेरि गुरुङ नै मुख्यमन्त्री बन्न सक्छन् ।
प्रदेश प्रमुखले पनि नयाँ सरकार गठनको आह्वान गरिसकेकी छिन् ।
राजीनामा दिंदा मुख्यमन्त्री गुरुङले आफूले गरेको कामको फेहरिस्त प्रस्तुत गर्दै आफूलाई मुख्यमन्त्री हुँदाका अप्ठ्यारा र समीकरणबारे उनले चर्चा गरेका छन् । अब आफ्नो पक्षमा बहुमत नपुग्ने आशय उनको राजीनामा पत्रमा पनि देखिन्छ ।
कुल ६० सांसद भएको गण्डकी प्रदेशमा सरकार गठनका लागि ३१ सांसद भए बहुमत पुग्ने गण्डकी प्रदेशसभामा एमालेबाट २७ सांसद छन् । उसलाई अब बहुमत पुर्याउन चार सांसदको खाँचो देखिन्छ । एमालेका २७ मध्ये एक सांसद इन्द्रलाल सापकोटा माधव नेपाल पक्षका छन् ।
गण्डकिको प्रतिपक्षी दल कांग्रेसका १५ सांसद छन् भने माओवादीका सभामुखसहित १२ जना सांसद छन् । जनमोर्चाबाट ३ र जनता समाजवादीका तर्फबाट २ जना सांसद छन् ।
मनाङबाट स्वतन्त्ररुपमा चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङगे)को एक सिट गरी ६० सांसद प्रदेशसभामा छन् । केही दिन अघि मात्रै मनाङेलाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्री बनाएका थिए ।
यस अघि कांग्रेस, माओवादी, जनमोर्चा र जसपा मिलेर कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीको उम्मेदवारमा प्रस्ताव गरिएका छन् । जनमोर्चाले कांग्रेस, माओवादी गठबन्धनमा उभिएर यस अघि नै अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेको छ । एक सांसद नाटकीय रुपमा गायव भएका थिए । तर, उनले पुनः पार्टी निर्णय मान्ने बताइसकेका छन् ।
यसरी कांग्रेसको १५, माओवादीको सभामुखसहित १२ र जनमोर्चाको ३ र जसपाको २ सिट प्राप्त गर्दा यो गठबन्धनले ३२ सिट पुर्याउन सक्ने देखिएको छ ।