काठमाडौं – सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि महान्यायाधिवक्ताको कार्यालयमा एकजना सूचना प्रविधि अधिकृतको अस्थायी दरबन्दी सिर्जना गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी सरकारकी प्रवक्ता रेखा शर्माले यस्तो निर्णय भएको बताइन् ।
शर्माका अनुसार बैठकले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको कात्तिक १२ देखि १५ गतेसम्म हुने नेपालको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ ।
सरकारले २०८० असोज २६ देखि कात्तिक २ गतेसम्म भारतमा हुने प्रधानमन्त्री गतिशक्ति गुरूयोजनाको अवलोकन भ्रमणमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने, आ.व. २०८०/८१ औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारी गर्न अनुमति दिने, थाइल्यान्डको बैंककमा २०८० कात्तिक २ देखि ३ गतेसम्म आयोजनामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृति दिने, दुग्ध विकास संस्थानको सञ्चालक समितिका सदस्य डा. वेदबहादुर क्षेत्रीलाई संस्थानको सञ्चालक समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार असोज २४ गते र आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सो कुराको जानकारी दिएकी हुन् ।
यसैगरी, बैठकले असोज २७ गते भएको मनाङ एअरको विमान दुर्घटनाको जाँचबुझ गर्न गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) गठन भएको समितिलाई कार्यादेश दिने निर्णय भएको उनले बताइन् ।
मन्त्री शर्माले ‘‘असार १२ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार मनाङएअरको ९ एन–एएमभि कलसाइन रहेको हेलिकोप्टर दुर्घटनाको जाँचबुझ गरी प्रतिवेदन पेस गर्न गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली २०७१ को नियम १० बमोजिम गठन भएको समितिलाई मनाङ एअरको २०८० असोज २७ मा भएको दुर्घटना ९एन–एएनजेको समेत जाँचबुझ गर्न कार्यादेश दिने ।’’ निर्णय भएको बताइन् ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले अन्य विभिन्न ३२ वटा निर्णय गरेको छ ।
[pdf-embedder url=”https://madhyabindu.com/wp-content/uploads/2023/10/मिति-२०८०-असोज-२४-र-कार्तिक-२-गते-बसेको-मन्त्रिपरिषद्-बैठकका-निर्णयहरू.pdf” title=”मिति २०८० असोज २४ र कार्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू”]