काठमाडौं – सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलनमा सघाएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि पोखरा पुर्याइएको छ ।
तत्कालीन गोर्खा मिडिया प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई चितवनबाट मध्यराति पोखरा पुर्याइएको प्रहरीले जनाएको छ । बिहान लैजाँदा उनका समर्थकहरुको भिडभाड हुनसक्ने भएपछि राति नै सडकमार्ग हुँदै पोखरा पुर्याइएको प्रहरीको भनाइ छ ।
साहरा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा बयान सकिएपछि उनलाई राति नै पोखरा पुर्याइएको रास्वपा नेताहरूले बताएका छन् । हिजो दिउँसो लामिछाने बयान चलिरहँदा हिजो चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले प्रदर्शन गरेका थिए ।
अब उनलाई पोखराबाट फेरि पर्सा लैजाने तयारी छ । जिल्ला प्रहरी कार्यालय पर्साले पनि पक्राउको आदेश पाइसकेकोले उनलाई फेरि विरगञ्ज लैजाने तयारी प्रहरीले गरेको हो । लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।
वीरगञ्ज महानगरपालिका–६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको प्रकरणमा अनुसन्धान गर्न रविलाई पक्राउ अनुमति दिइएको हो ।
सानो पाइलाबाट गोर्खा मिडियामा साढे ८ करोड रूपैयाँ लगेर अपचलन गरेको देखिएको छ । पर्सा प्रहरीका अनुसार सानो पाइलाबाट गैरकानूनी रूपमा रकम सार्दा गोर्खा मिडियामा रवि लामिछाने प्रबन्ध निर्देशक थिए ।