काठमाडौं – राष्ट्रिय सभाको सातौं अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभाको मात्रै अधिवेशन सुरु हुन लागेको हो ।
अघिल्लो अधिवेशन अन्त्य भएको पर्सि शनिबार ६ महिना पुग्ने भएपछि बाध्यात्मक अवस्थापछि सरकारले भोलिबाट राष्ट्रिय सभाको अधिवेशन बोलाएको हो । पहिलो बैठक भोली अपरान्ह ४ बजे सुरु हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटनको सिफारिस गरेको भन्दै उक्त कदमको सर्वत्र आलोचना भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीले प्रतिनिधि सभा विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भएको बताउँदै आन्दोलन प्रदर्शन गरिरहेका छन् ।
राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले भोलि बस्ने पहिलो बैठकका लागि कार्यसूची तय गरेको छ । अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिको पत्र पढेर बैठकको सुरुवात हुनेछ । अधिवेशनको पहिलो बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका तर्फबाट नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
राष्ट्रियसभामा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको प्रतिनिधित्व छ । भोलीको बैठकमा छैठौं अधिवेशनपछि जारी भएका अध्यादेशहरु समेत टेवल हुने कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुुुुयाँलले जानकारी दिए ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट यो बीचमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश लगायत ७ वटा अध्यादेश जारी भएको थियो ।
यस्तै बैठकमा दिगो विकास तथा सुशासन समितिले आफ्नो प्रतिवेदन पेस गर्नेछ भने थारु आयोग, मधेशी आयोग लगायत संवैधानिक आयोगहरुको प्रतिवेदनहरु पनि टेवल हुनेछन् । नेकपा संसदीय दलका नेता दिनानाथ शर्मा अहिले दाहाल–नेपाल समूहतिर लागेका छन् ।
कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारी अस्वस्थ भए पनि उनको ठाउामा अर्को नेताले बोल्नेछन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना भने सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले यसबारे राष्ट्रिय सभामा छलफल गर्न नदिने तयारीमा छन् ।