काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीले स्पष्टीकरण सोधेको छ ।
महामन्त्री ढकाललाई पार्टीको अनुशासन आयोगले शुक्रबार पत्र पठाएर स्पष्टीकरण सोधेको हो। ढकालले भने आफूलाई सभापति रवि लामिछाने बाहेकले स्पष्टीकरण सोध्न नमिल्ने दाबी गरेका छन् ।
महामन्त्री ढकालले आफ्नो सचिवालयमा पत्र आइपुगेको बताए । ‘मलाई पत्र प्राप्त भएको छ । तर कसले पठाएको भनेर मैले खोलेर हेरेको छैन । पढेको पनि छैन । सभापतिबाहेकले मलाई स्पष्टीकरण सोध्न मिल्दैन । सभापतिसँग एकछिन पहिले कुरा हुँदा स्पष्टीकरण सोधेको छैन भन्नुभएको हो,’ महामन्त्री ढकालले भने, ‘तर पत्र चाँहि मेरो सचिवालयमा आइसकेको छ ।’
महामन्त्री ढकालले ३८ जिल्ला घुमेर तयार पारेको ३२ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेका कारण रास्वपाभित्र खैलाबैला मच्चिएको छ ।
सो प्रतिवेदनमा भएका महत्वपूर्ण बुँदासमेत महामन्त्री ढकालले सार्वजनिक गरेको भन्दै अनुशासन आयोगले ढकाललाई स्पष्टीकरण सोधेको हो ।
महामन्त्री ढकालले आफ्नो प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए । तर अहिलेसम्म सो प्रतिवेदन सार्वजनिक भएको छैन । प्रतिवेदनमा समावेश विषयवस्तुबारे महामन्त्री ढकालले सार्वजनिक गरेको आरोप लागेको छ ।
सो प्रतिवेदनमा महामन्त्री ढकालले किन्तु र परन्तु नलगाइ प्रदेश संरचना खारेजीको पक्षमा उभिनुपर्ने उल्लेख गरेको बताएका थिए । ‘किन्तु/परन्तु नलगाई पार्टी प्रदेश संरचना खारेजीको पक्षमा उभिनुपर्छ।’
ढकालले भनेका छन्, ‘अहिलेको अवस्थामा ओली र प्रचण्डको साटो बालेन र गोपी हमाललगायत स्वतन्त्र पक्षधर व्यक्तिहरूसँग मिल्नु सबैभन्दा उपयुक्त हुन्छ ।’