रुकुम पश्चिम घटनाको अनुगमन गर्न आयोगको टोली त्यसतर्फ प्रस्थान

27

(काठमाडौं) – रुकुम पश्चिममा ५ जनाको मृत्यु र एकजना बेपत्ता भएको घटनाको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

अन्तर्जातीय विवाहको विषयलाई लिएर यही जेठ १० गते रुकुम पश्चिममा ५ जनाको मृत्यु र एक जना बेपत्ता भएको घटनाको अनुगमन गर्न आयोगको टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको हो ।

आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईंको नेतृत्वमा रहेको आयोगको टोलीले सो घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको तत्कालीन कारण, घटनापश्चात् शान्ति सुरक्षा र सामाजिक सद्भावको अवस्था तथा स्थानीय प्रशासन र प्रहरीबाट भइरहेको निष्पक्ष अनुसन्धान एवं शान्ति सुरक्षाको कार्यसम्बन्धमा अनुगमन तथा अनुसन्धान गर्ने जनाइएको छ ।

आयोग, नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ नेपालको सहकार्यमा गठित जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले यसअघि उक्त घटनाको सम्बन्धमा प्रारम्भिक अनुगमन गरेको थियो ।

जातीय विभेदसँग सम्बन्धित उक्त अमानवीय तथा आपराधिक घटनालाई कुनै पनि पक्षले तरङ्गित र अतिरञ्जित बनाउने कार्य नगर्न तथा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारवाही गर्ने प्रक्रियामा आवश्यक सबै प्रकारको सहयोग पुऱ्याउन जनप्रतिनिधि, राजनीतिक दल, मानव अधिकारकर्मी, नागरिक समाज र स्थानीय बासिन्दा समेतलाई आयोगले आग्रह गरेको छ ।

समाचार वर्गहरू