लकडाउन केही खुकुलो : के गर्न मिल्छ, के मिल्दैन

22

(काठमाडौं) – सरकारले लकडाउनलाई केही खुकुलो बनाएको छ । सरकारले व्यापार, उद्योग, कृषि, निर्माण तथा बैंकिङ क्षेत्रको गतिविधिका लागि विभिन्न व्यवस्था गरी ती क्षेत्रमा लकडाउन खुकुलो हुने व्यवस्था गरेपछि सबैजसो उद्योग सञ्चालनको तयारीमा छन् ।

लगभग सबै प्रकार उद्योग व्यवसाय खोल्न दिने निर्णय गरेको सरकारले सार्वजनिक यातायात, जमघट र शैक्षिक गतिविधिमा भने प्रतिबन्ध लगाएको छ । बैंक तथा वित्तीय संस्थाका सबै शाखा आगामी आइतबारदेखि पुनः सञ्चालन हुने भएका छन् ।

सरकारले बैंक तथा वित्तीय संस्था सञ्चालन अनुमति दिएपछि सबै शाखाबाट नियमित काम हुने भएको हो । लकडाउनयता बैंक तथा वित्तीय संस्थाले सीमित शाखाबाट दैनिक २ ३ घण्टा मात्र बैंकिङ सेवा दिँदै आएका थिए । सरकारले धितोपत्र बजार सञ्चालन गर्न पनि अनुमति दिएको छ । तर आइबारदेखि नै बजार सञ्चालन हुने अवस्था छैन ।

बैशाख २४ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय :
१. विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को संक्रमण फैलिने सम्भावना देखिएकोले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/१/१४ गतेको निर्णय अनुसार सो रोग रोकथाम र निर्मूल गर्न संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम मिति २०७७ बैशाख २५ गते बिहीबार मध्यरातसम्मका लागि नेपालभर लागू हुने गरी जारी गरिएको आदेश हाललाई मिति २०७७ जेठ छ गते सोमबार मध्यरातसम्मका लागि नेपालभर लागू हुने गरी निरन्तरता दिने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने ।

२. विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ रोगको संक्रमणबाट सुरक्षित रहनका लागि छिमेकी मित्रराष्ट्रहरू लगायत अन्य मित्रराष्ट्रहरूले चालेका प्रयास र अनुभव समेतलाई ध्यानमा राखी यस क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई सो रोगको संक्रमणबाट सुरक्षित राख्न नेपालको अन्तर्राष्ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन २०७७ बैशाख ३१ गते बुधबार मध्यरातसम्मका लागि स्थगित गरिएकोमा हाललाई मिति २०७७ जेठ १८ गते आइतबार मध्यरात सम्मका लागि नेपालको अन्तर्राष्ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिने । तर, मालसामानको ढुवानीलाई यथावत कायम राख्ने । सबै किसिमका आन्तरिक र बाह्य व्यावसायिक यात्रुबाहक हवाई उडानहरू उक्त अवधिसम्म स्थगन गर्ने । यो आदेशको पालना नगरी सीमा नाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसहरूलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने ।

३. विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ को संक्रमणको रोकथाम, नियन्त्रणका लागि सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि हो । हालसम्म यो आदेशको पालना गरी साथ दिनुभएकोमा नेपाल सरकार सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ । साथै, मिति २०७७ जेठ ६ गते सोमबार मध्यरातसम्मका लागि जारी भएको उक्त आदेश र मिति २०७७ जेठ १८ गते आइतबार मध्यरातसम्मका लागि नेपालको अन्तर्राष्ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन स्थगित गर्ने कार्यको पूर्ण पालना गरी गराई सहयोग पुऱ्याउनु हुन नेपाल सरकार सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछ ।

४. उक्त अवधिमा औषधि, स्वास्थ्य सामग्रीजस्ता अत्यावश्यक वस्तुको उत्पादन तथा बिक्री वितरण, खाद्यवस्तु लगायत कृषि तथा पशुपन्छीजन्य उत्पादन तथा बिक्री वितरण, औषधि, स्वास्थ्य सामग्री जस्ता अत्यावश्यक वस्तुको उत्पादन तथा बिक्री वितरण, खाद्यवस्तु लगायत कृषि तथा पशुपन्छीजन्य उत्पादन तथा बिक्री वितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्री वितरण, विकास आयोजनाहरूको सञ्चालनको लागि आवश्यक पर्ने ढुङ्गा (गिट्टी, बालुवा लगायतका निर्माण सामग्रीको ढुवानी र न्यूनतम बैंकिङ तथा वित्तीय सेवालाई सुरु गर्न केन्द्रीय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर र प्रदेशस्तरीय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग आवश्यक समन्वय गरी सम्बन्धित जिल्लाको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले संक्रमणको जोखिमको अवस्था मूल्याङ्कन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरीरगराई, सामाजिक दूरी कायम गरीरगराई देहाय बमोजिमका क्रियाकलापहरू सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने ।

(क) कृषि तथा पशुपन्छीजन्य सम्बन्धी :
१) खाद्यवस्तु र अन्य बाली लगाउने तथा पाकेको बाली भित्र्याउने कार्य ।
२) पशुपन्छी पालन, माछा पालन, कुखुरा पालन तथा बिक्री वितरण ।
३) फलफूल, तरकारी, दूध र दुग्धजन्य पदार्थको उत्पादन, संकलन, भण्डारण र विक्री वितरण ।
४) नर्सरीबाट बिरुवाको उत्पादन, घाँस तथा दाना उत्पादन र बिक्री वितरण ।
५) कृषि बीउ बिजन उत्पादन, भण्डारण र बिक्री वितरण ।
६) शीत भण्डारण ।

(ख) स्वास्थ्य सेवा सम्बन्धी :
१) सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरू, अस्पताल, नर्सिङ्ग होम, पोलिक्लिनिक, ल्याब, डाइग्नोष्टिक सेन्टरहरूको सञ्चालन । सबै प्रकारका खोप लगायतका अत्यावश्यक सेवाहरूको सञ्चालन ।
२) औषधि तथा स्वास्थ्य सामग्री र मेडिकल अक्सिजनको उत्पादन तथा बिक्री वितरण ।
३) औषधि पसलहरू (आयुर्वेद, होमियोप्याथिक समेत) को सञ्चालन ।
४) एग्रोभेट र भेटेरिनरी औषधि पसलहरूको सञ्चालन र तत्ः सम्बन्धी सेवा ।
(ग) जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक बिक्रीको अनुमति लिएका पुस्तक पसल ।

(घ) ढुवानी सेवा सम्बन्धी :
ढुवानी सेवाका साधनहरूलाई निसंक्रमित गरी निसंक्रमण गर्ने निकायले जारी गरेको निस्सा साथमा राखी चालक तथा परिचालकको स्वास्थ्य जाँच सम्बन्धित भन्सार बिन्दु र उद्योग प्रतिष्ठानहरूमा गर्ने व्यवस्था मिलाई देहायका ढुवानीका साधनहरू गन्तव्य स्थलसम्म आवतजावत गर्न दिने ।
१) प्रकरण ४ को खण्ड (क) र (ख) मा उल्लिखित सबै प्रकारका वस्तु तथा सेवामा प्रयोग हुने ढुवानीका साधनहरू ।
२) भन्सारबाट जाँचपास भई आएका, उद्योग प्रतिष्ठानबाट लोड लिई मालसामान बोकेका र मालसामान गन्तव्यमा पुऱ्याई फर्किने ढुवानीका साधनहरू ।
३) पानी, ग्याँस, पेट्रोलियम पदार्थ बोकेका ढुवानीका साधनहरू ।
४) औद्योगिक कच्चा पदार्थहरू र तयारी मालवस्तु बोकेका ढुवानीका साधनहरू ।
५) विकास आयोजनामा प्रयोग हुने उपकरणहरू लाने र ल्याउने कार्य र निर्माण सामग्रीहरू बोकेका ढुवानीका साधनहरू ।
६) कृषि सामग्री, रासायनिक एवं प्राङ्गारिक मल बोकेका ढुवानीका साधनहरू ।
७) एम्बुलेन्स सेवा ।
८) विद्यालयका पाठ्यपुस्तकको ढुवानी गर्ने प्रयोजनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट अनुमति लिएका ढुवानीका साधनहरू ।
९) काठमाडौं उपत्यकामा प्रवेश गर्ने मालबाहक सवारी साधनमा यात्रुहरू राख्न नपाइने, प्रवेश बिन्दुमा त्यस्ता सवारी साधनका सवारीचालक र सहयोगीको नाम, जन्ममिति, काठमाडौं प्रवेश गरेको र फर्केको मिति सहितको विवरण राख्ने र सवारी साधन फर्की जाँदा सोही विवरण बमोजिमको व्यक्ति भए नभएको जाँच गर्ने । झुट्टा विवरण दिई यात्रा गरेको पाइएमा सवारी साधन नियन्त्रणमा लिई कारबाही गर्ने ।
१०) एम्बुलेन्स दुरुपयोग गर्नेलाई कारबाही गर्ने ।
११) अत्यावश्यक कामका लागि दिइने सवारी साधनको पास न्यूनतम संख्यामा जारी गर्ने ।

(ङ) विकास आयोजना सम्बन्धी :
१) राष्ट्रिय गौरवका आयोजनाहरू, सरकारी तथा निजीस्तरबाट सञ्चालित जलविद्युत आयोजना, सिंचाइ आयोजना, खानेपानी आयोजना, विमानस्थल, सडक तथा पुल, सरकारी भवन निर्माण तथा प्रबलीकरण र एक स्थानमा एकपटकमा अधिकतम १० (दश) जनामा नबढ्ने गरी सञ्चातलन गरिने अन्य सहरी पूर्वाधार विकास निर्माणका कामहरू ।

२) प्रकरण (१) का आयोजनाहरूमा काम गर्ने श्रमिकहरूलाई सम्बन्धित आयोजनाले दैनिक रूपमा अनिवार्य स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाई एकै स्थानमा आवासको व्यवस्था गर्ने । श्रमिकहरूलाई कार्यस्थलमै खानारखाजाको व्यवस्था मिलाउने । स्थान अभाव भएमा स्थानीय निकायको समन्वयमा सम्बन्धित वडाभित्रका सार्वजनिक सामुदायिक भवन वा सरकारी तथा नीजि विद्यालय वा खाली स्थानमा स्थानीय व्यक्तिहरूसँग सम्पर्क नहुने गरी सुरक्षित आवासको व्यवस्था गर्ने । यस सम्बन्धी खर्च सम्बन्धित निर्माण व्यवसायीले व्यहोर्ने ।

३) ढुङ्गा–गिट्टी, बालुवा लगायत निर्माण सामग्रीहरूको उत्पादन, संकलन र ढुवानी सम्बन्धी कार्य ।
४) सिमेन्ट उद्योगका लागि खानी सञ्चालन लगायत आवश्यक चुनढुङ्गा, कोइला, क्लिंकरको उत्पादन, संकलन र ढुवानी सम्बन्धी कार्य ।
५) नदी नियन्त्रणका कार्यहरू ।
६) आवास स्थलदेखि निर्माण स्थलसम्म श्रमिकहरूलाई सुरक्षित आवतजावत गर्न स्वास्थ्य मापदण्ड पालना गरी निर्माण व्यवसायीले परिवहनको व्यवस्था मिलाउने ।

(च) सार्वजनिक सेवा सम्बन्धी :
१) बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारी मार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने ।

२) अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा अति आवश्यक पर्ने न्यूनतम कर्मचारीहरूलाई आलोपालो मिलाई तोकिएका स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनुशरण गरी कार्यालय सञ्चालन गर्ने ।

३) अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालयका लागि सम्बन्धित मन्त्रालयको सचिव र अन्य निकायहरूको लागि सम्बन्धित निकायको प्रमुखको सिफारिसमा नियामक निकायले त्यस्ता कार्यालयमा रहेको कुल सवारी साधनहरूमध्ये एक चौथाई सख्यामा नबढ्ने गरी सवारी पास उपलब्ध गराउने ।

४) प्रकरण (३) मा तोकिएको बाहेक उपत्यका बाहिरको हकमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले सावधानी पूर्वक सकेसम्म न्यूनतम सवारी साधन सञ्चालन हुने नीति लिई सवारी पास उपलब्ध गराउने ।

(छ) औद्योगिक उत्पादन सम्बन्धी :
यस अवधिभर उत्पादन प्रक्रियामा संलग्न श्रमिक कामदारलाई उद्योग प्रतिष्ठानले छुट्टै स्थानमा राख्ने बन्दोबस्त मिलाई काममा लगाउने । आफ्नो प्रतिष्ठानभित्र पर्याप्त स्थान नभएमा उक्त प्रतिष्ठान रहेको स्थानीय निकायको समन्वयमा सम्बन्धित वडाभित्रका सार्वजनिक सामुदायिक भवन वा सरकारी तथा नीजि विद्यालय वा खाली स्थानमा स्थानीय व्यक्तिहरूसँग सम्पर्क नहुने गरी सुरक्षित आवास तथा खाना र खाजाको व्यवस्था गर्ने । यस सम्बन्धी खर्च सम्बन्धित उद्योग प्रतिष्ठानले व्यहोर्ने । आवासस्थलदेखि उद्योग प्रतिष्ठान रहेको स्थानसम्म श्रमिकहरूलाई स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित परिवहनको व्यवस्था मिलाउने । उद्योगहरूले कार्यस्थललाई अनिवार्य रूपमा स्यानिटाइजेसन गर्ने र नियमित स्वास्थ्य जाँच तथा स्वास्थ्य सुरक्षाको सुनिश्चितता गरी देहायका उद्योग व्यवसायहरू सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

१) चामल, दाल, तेल, चिउरा, चिनी, बिस्कुट, पाउरोटी, पिठो, चाउचाउ जस्ता दैनिक उपभोग्य खाद्यवस्तु, पानी प्रशोधन, औषधि, स्वास्थ्य सामग्री, साबुन उत्पादन र सोको प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योगहरू ।
२) ग्याँस बोटलिङ्ग, घरेलु तथा साना उद्योगहरू, निर्यातजन्य र विशेष आर्थिक क्षेत्रमा सञ्चालित उद्योगहरू र सिमेन्ट, डण्डीजस्ता निर्माणजन्य उद्योगहरू ।
३) बढीमा ५ जनासम्म कामदार रहने गरी सवारी साधनहरूको मर्मत गर्ने वर्कशप, इन्टरनेट जडान र मर्मत, प्लम्बिङ् तथा इलेक्ट्रिकल सेवा र पेट्रोल पम्प सञ्चालन ।

(ज) राजमार्गका होटल तथा रेष्टुरेन्ट सम्बन्धी :
राजमार्ग तथा सहायक राजमार्गका कम्तिमा ५० किलोमिटर दूरीको अन्तरमा सम्बन्धित स्थानीय तहले तोकेका स्थानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको मापदण्ड अवलम्बन गरी खानाको प्याकेट मात्र बिक्री गर्ने गरी होटेल, रेष्टुरेण्ट सञ्चालन गर्ने व्यवस्था स्थानीय प्रशासनले मिलाउने । राजमार्ग र सहायक राजमार्गमा सञ्चालन हुने सवारी साधनहरू उपयुक्त बमोजिम निर्धारित समय र स्थानमा मात्र रोक्ने व्यवस्था गर्ने ।

(झ) व्यवस्थापकीय कार्य सम्बन्धी :
सम्बन्धित रोजगारदाता, स्थानीय तह, सेवा प्रदायक, स्थानीय प्रशासनले आवागमन सहजीकरण गर्ने, सामाजिक दूरी कायम गराउने, अनिवार्य रूपमा मास्क प्रयोग गर्ने, तापक्रम मापन गर्ने, स्यानिटाइजर र ग्लोब्सहरूको प्रयोग गर्ने, विद्युतीय माध्यमबाट भुक्तानी गर्ने । नगद कारोबार गर्दा खुद्रा पैसाको लेनदेन कम हुने गरी गर्ने । एक ठाउँमा पाँच जना भन्दा बढी व्यक्ति जम्मा नहुने व्यवस्था मिलाउने ।
(ञ) प्रतिनिधि सभा, राष्ट्रिय सभा र संसदीय समितिको बैठकहरू स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

छ. माथि प्रकरण ४ मा जुनसुकै कुरा लेखिएको भए तापनि अर्को आदेश वा सूचना जारी नभएसम्म देहायका स्थान र स्थलहरू बन्द रहनेछन् र देहायका क्रियाकलापहरू सञ्चालन गर्न पाइने छैन ।

(क) विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सवै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरू ।
(ख) गैरखाद्य वस्तु बिक्री गर्ने व्यावसायिक मल, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क लगायतका सार्वजनिक स्थलहरू ।
(ग) सार्वजनिक जमघट, धार्मिक स्थलहरू (मन्दिर, गुम्बा, मस्जिद, चर्च, गुरुद्वारा आदि) मा हुने भेला एवं धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू ।
(घ) रङ्गशाला, खेलकुद स्थल, फुटसल, शारीरिक सुगठन गर्ने स्थल तथा जिमखाना, फिटनेस सेन्टर, सैलुन, व्युटीपार्लरहरू ।
(ङ) होटल, वार, रेष्टुरेण्टहरू ।
(च) स्थानीय प्रशासनबाट सवारी पास पाएकाबाहेक सवै प्रकारका यात्रुबाहक सवारी साधनहरू ।
(छ) १२ वर्ष मुनिका बालबालिका, अशक्त भएका व्यक्ति, बिरामी, ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिक र गर्भवती महिलाहरूको आवतजावत तथा हिँड्डुलका गतिविधिहरू ।
(ज) आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यवसायिक यात्रुबाहक हवाई उडान ।
(झ) केवलकार सेवा र रेलवे सेवा ।
ट. नेपाल राज्यको कुनै भू–भागमा संक्रमणको जोखिम देखिएमा वा समुदायस्तरमा उक्त संक्रमण विस्तार भएको पाइएमा उक्त क्षेत्र वा जिल्लाभर माथि प्रकरण ४ मा उल्लिखित क्रियाकलापहरू निश्चित अवधीसम्मका लागि स्थानीय प्रशासनले तत्कालै सञ्चालनमा रोक लगाउन सक्नेछ ।

७. विश्व शान्तिका प्रतीक सिद्धार्थ गौतमको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएको पावन दिनको अवसरमा विश्वशान्तिको कामना गर्दै सिद्धार्थ गौतमबुद्धको स्मरण गर्न, कोरोना महामारी विरुद्धको लडाइँमा अग्रभागमा खटिइरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायतका राष्ट्रसेवक र स्वयंसेवकहरू प्रति उच्च सम्मान सहित हौसला प्रदान गर्न, विश्व्मा कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको चिरशान्तिको कामना गर्न, कोरोना संक्रमण भएका बिरामीहरूको शीघ्र स्वास्थ्यलाभ गर्न र सम्भावित संक्रमणबाट सुरक्षित रहने प्रतिबद्धता व्यक्त गर्न संवत् २०७७ बैशाख २५ गते साँझ ७ बजे आ–आफू रहेको स्थानमा दीप प्रज्वलन गर्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक अपिल गर्ने ।

समाचार वर्गहरू