विराटनगर – कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा थप एकजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-८ का ६५ वर्षीय पुरुषको संक्रमणबाट आइतबार राति मृत्यु भएको छ ।
कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत उनको आइतबार राति करिब १० बजे मृत्यु भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
गत बिहीबार स्वाब संकलन गरिएको मृतकको आइतबार पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो ।
मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन् । मृतकको परिवारमा थप तीन जना सदस्यमा पनि संक्रमण देखिएको छ ।
योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १० पुगेको छ ।