काठमाडौं – भारतीय सेनाले विवादित हिमाली सीमा क्षेत्र एलसीमा चेतावनी स्वरूप गोली चलाएपछि जबाफी कारबाही गरेको चीनले बताएको छ । तर कस्तो जबाफी कारबाही भन्ने उसले प्रस्ट पारेको छैन ।
चीनका अनुसार चिनियाँ सैनिकहरू वार्ताका लागि तयार थिए । तर, भारतबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको नआएको चीनको जनमुक्ति सेनाले बताएको छ ।
चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ सेनाका प्रवक्तालाई उद्दृत गर्दै चिनियाँ सेनालाई त्यसको अवस्थालाई स्थिर पार्न प्रतिकार गर्न बाध्य भएको जनाएको छ । भारतीय समाचार एजेन्सी एएनआईले पनि एलसीको पूर्व लद्दाखमा फायरिंग भएको जनाएको छ ।
चीनको सेनाका प्रवक्ता वरिष्ठ कर्नेल जाङ् शियुलीले एक वक्तव्य जारी गर्दै भने, “भारतीय सैनिकहरूले भारत-चीन सीमाको पश्चिमी भागमा एलएसी पार गरेका छन् र पाङ्गोङ् त्सो तालको दक्षिणी किनाराको नजिक शेनपाओ पहाडी इलाकामा घुसेका छन् ।”
वक्तव्यका अनुसार भारतीय सेनाको उक्त कदमले दुई पक्षबीच बनेको सहमतिको गम्भीर उल्लंघन गरेको छ । यसले त्यहाँ तनाव बढ्ने भन्दै प्रवक्ताले यसलाई गम्भीर भड्काउपूर्ण कदम भनेका छन् । चिनियाँ सेनाले आफ्नो क्षेत्रको सम्प्रभुताको रक्षा गर्ने उनले बताए । सो घटनाबारे भारतको प्रतिक्रिया आएको छैन । दुवै देशले सो क्षेत्रमा हजारौँ फौज परिचालन गरेका छन् ।
दिल्ली र बेइजिङबीच तनाव बढिरहेका बेला गत साता चिनियाँ सेनाले सीमावर्ती राज्यबाट पाँचजना भारतीय नागरिकलाई कब्जामा लिएको विवरणपनि आएका छन् ।
तीन दिनअघि अरुणाञ्चल प्रदेशका एक सांसदले ट्वीट गर्दै पहिलोपटक त्यस्तो आरोप लगाएका थिए । त्यसपछि एक भारतीय मन्त्रीले चिनियाँ सेनालाई “हटलाइन सन्देश” पठाइएको बताए । भारत र चीनका विदेशमन्त्रीको भेटघाट हुने निर्धारण भएको समयमा पछिल्लो विवाद चर्किएको छ ।