(काठमाडौं) – शनिबार थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तुका ८, सर्लाहीका १३, बाराका एक, रुपन्देहीमा ८, चितवनमा एक र काठमाडौंका एक जना रहेका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिका निवासी एक २७ वर्षीया महिला र १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षका पुरुष रहेका छन् । सलार्हीको गोडैता र कालिवास नगरपालिका निवासी १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षका गरी १३ जना पुरुषमा संक्रमण देखिएको हो ।
यस्तै, भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गडैहवा र रोहिणाी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षमा पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, काठमाडौंका ३५ वर्षीय पुरुष, चितवनको भरतपुर महानगरपालिका–६ का ५२ वर्षीय पुरुष र बाराको करैयामाई गाउँपालिका निवासी ३७ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।