काठमाडौं – नेपाल ट्रेड युनियन कांग्रेसले सल्लाहकार एवं निवर्तमान वरिष्ठ उपाध्यक्ष रामजी कुँवरको निधनमा युनियनका सबै मातहतका कार्यालय तीन दिन बन्द गर्ने र युनियनको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार शोक विज्ञप्ति जारी गर्दै मातहतका कार्यालय बन्द गर्ने र झण्डा आधा झुकाउने जनाएको हो ।
नेता कुँवर २०३६ सालबाट प्यारामेडिकल आन्दोलनबाट श्रमिक आन्दोलनमा सक्रिय भएका थिए । ट्रेड युनियन कांग्रेसको २०४७ मा पुनःस्थापना भएदेखि नै श्रमिक र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहदै आएका कुँवर ट्रेड युनियन कांग्रेसमा केन्द्रीय सदस्य , सचिव , वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहिसकेका थिए ।
पछिल्लो समय नेपाली कांग्रेसमा आमन्त्रित केन्द्रीय सदस्य र कांग्रेसकोतर्फबाट २०७४ मा पोखरा महानगरको मेयरका उम्मेदवार समेत बनिसकेका कुँवरको यस अघि नै कोरोनामुक्त भए पनि छाती र फोक्सोमा भएको गम्भीर खराबीका कारण ६५ वर्षको उमेरमा त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा असार २१ गते निधन भएको हो ।
स्व. कुँवरको पार्थिव शरीरलाई मंगलबार बिहान ८:००देखि ९:०० बजे सम्म ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यालय अनामनगरमा अन्तिम श्रद्धाञ्जलीकालागि राखिएको थियो । श्रद्धाञ्जली दिन कांग्रेस महामन्त्री डा. शशांक कोईराला , पुर्व महामन्त्री प्रकाशमान सिंह , सहमहामन्त्री सुनिल थापा, नेता अर्जुननरसिंह केसी , केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, गगन थापा, बद्री पाण्डे , दिपक गीरि, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, जिफण्ट अध्यक्ष विनोद श्रेष्ठ , माओवादी केन्द्र का बागमती प्रदेश सदस्य एवं अन्टुफ अध्यक्ष जगत सिम्खडा लगायत कांग्रेस र ट्रेड युनियन नेता कार्याकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
कांग्रेस सभापति शेर बहादुर देउवाले फोनमार्फत समावेदना व्यक्त गर्नु भएको थियो भने वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य डा. शेखर कोईरालाले सोमबार नै अस्पतालमा पुगि परिवारलाई समावेदना व्यक्त गरेका थिए ।
कुँवरको निधनले ट्रेड युनियन आन्दोलन र प्रजातान्त्रिक आन्दोलनलाई अतुलनीय क्षतिपुगेको ट्रेड युनियन कांग्रेसले जनाएको छ । स्व.कुँवर कांग्रेस नेता अर्जुननरसिंह केसिको बहिनी ज्वाई समेत हुन् ।