रौतहटका पुजारीको हत्यामा संलग्न दुई पक्राउ

26

रौतहट – रौतहटका पुजारीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

देवाही गोनाही नगरपालिका–१ करुनियाका ३६ वर्षीय राम नरेश राउत पटेल र २८ वर्षीय बालकुमार पटेललाई प्रदेश २ प्रहरी कार्यालय जनकपुरले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

सापट दिएको रकम माग्दा भएको विवादपछि रौतहटका पुजारीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरका डीएसपी अंशुकुमार सिंहले दुबैलाई बौधिमाई नगरपालिका–७ स्थित बंकुल क्षेत्रबाट बुधबार बिहान पक्राउ गरेको बताए ।

यही भदौ ३ गते राति माधवनारायण नगरपालिका–२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको कन्चडमा गोली प्रहार गरी हत्या भएको थियो ।

पक्राउ परेका राम नरेशका बुवाले पुजारीसँग केही रकम ब्याजमा लिएको र माग्ने बेला विवाद भएपछि हत्याको योजना बुनेको उनले प्रहरी समक्ष बताएका छन् ।

पक्राउ पछिको प्रारम्भिक अनुसन्धानबाट राम नरेशले कटुवा पेस्तोल प्रयोग गरी हत्या गरेको स्वीकारेका छन् । पक्राउ परेका दुबैलाई जिल्ला अदालत गौरबाट १० दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको डीएसपी सिंहले जानकारी दिए ।

समाचार वर्गहरू