सूचना नदिने कार्यालय प्रमुखलाई पाँच हजार जरिवाना

61

काठमाडौं – राष्ट्रिय सूचना आयोगले कानुनबमोजिम सूचना नदिने एक कार्यालय प्रमुखलाई पाँच हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ।

आयोगले तिलौराकोट साझेदारी वन व्यवस्थापन समूह, कपिलवस्तुका कार्यालय प्रमुख तथा अध्यक्ष जयप्रकाश पाण्डेलाई सुचना नदिएवापत जरिवाना तिराउने फैसला गरेको हो।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका– २ निवासी वसन्त गिरीले वन व्यवस्थापन समूहको उक्त कार्यालयमा सूचना माग गर्दै सूचना हालेकामा नदिएपछि आयोगले कारबाहीसहितको फैसला गरेको हो। गिरीले २० पुस ०८० मा आयोगमा पुनरावेदन निवेदन हालेका थिए।

आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १० को उपदफा २ बमोजिम सात दिनभित्र आयोगसमक्ष लिखित व्यहोरा पठाउन सोही दिन आदेश जारी गरेको थियो। तर, तोकिएको अवधिभित्र कुनै जानकारी उपलब्ध नगराएपछि पुनः सात दिनभित्र सूचना उपलब्ध गराउन आयोगले आदेश दिएको थियो।

संविधानप्रदत्त अधिकार र ऐनबमोजिम सूचना माग्न आएका सेवाग्राहीलाई सूचना नदिएको, आयोगले कारबाही हुने चेतावनी दिँदा पनि अटेर गरेको र जिम्मेवारी पालनामा पूर्णतः गैरजिम्मेवार देखिएको भन्दै आयोगले जरिवाना तिराउने फैसला गरेको हो।

समाचार वर्गहरू