२९ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, प्रधानमन्त्रीद्वरा सु–स्वास्थ्य र दीर्घायुको कामना

15

काठमाडौं  – आज अक्टोबर १ अर्थात २९ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ । २९ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण ज्येष्ठ नागरिक नेपालीहरूप्रति हार्दिक बधाई तथा शुभकामना तथा सु–स्वास्थ्य र दीर्घजीवनको कामना गरेका छन् ।

संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टुबर १ लाई इन्टरन्यासनल डे अफ ओल्डर पर्सन्स अर्थात अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ ।

आज द जर्नी टू एज इक्वालिटी अर्थात उमेरकै कारण गरिने विभेद–अन्त्यको यात्रा भन्ने नाराका साथ संसारभरि नै अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्यतापूर्वक मनाइँदैछ ।

नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र ज्येष्ठ नागरिकको हक, हित संरक्षण एवं सम्बद्र्धनका लागि छाता संगठनका रूपमा कार्यरत राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ लगायत विभिन्न संघ–संस्थाहरुले यस दिवसका अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै छन् ।

प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, ‘मानव जीवनमा ज्ञानका स्रोतहरु मध्ये सवैभन्दा उत्कृष्ठ स्रोत अनुभव हो । यसको पाठ्य सामग्री र पाठःशाला जीवन हो । पुस्तकबाट प्राप्त ज्ञान भन्दा कयौं गुणा उपयोगी यस्तो प्रायोगिक ज्ञानलाई हामी प्रज्ञा भन्छौं । ज्येष्ठ नागरिकहरुबाट प्राप्त हुने प्रज्ञा, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्नु पर्दछ भन्ने सरकारको मान्यता छ । यसका लागि सरकारले ज्येष्ठ नागरिकहरूको ज्ञान र अनुभवमा आधारित सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरणको सिर्जना गर्दैछ । ज्येष्ठ नागरिकहरुको मार्गदर्शनमा परिवार र समाजले सही दिशाको पहिचान अनि असल सँस्कृतिको प्रवद्र्धन गर्न सक्दछ ।’

व्यक्तिको सरदर आयुमा भएको वृद्धिसँगै हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकको जनसंख्या तीब्र गतिमा बढ्दैछ ।नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन् । राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने क्रममा वर्तमान सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्ता लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको उनले बताए ।

नेपालका प्रत्येक ज्येष्ठ नागरिकको जीविका र रहन सहन मानवोचित स्तरमा सुनिश्चित गर्न सरकारले कानुन मार्फत नै ठोस व्यवस्थाहरु गर्ने नीति लिएको प्रधानमन्त्री ओलीको भनाई छ । वर्तमान सरकारले अघि सारेको हरेक अस्पतालमा जेरियार्टिक वार्ड अर्थात ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने नीतिको कार्यान्वयन केही अस्पतालहरुबाट सुरु भइसकेको उनले जानकारी दिए ।

नेपालमा पहिलो पटक स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको कम्युनिष्ट पार्टीको एकल सरकारले मासिक १०० रुपैयाँबाट ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको थियो । जनवोलीमा वृद्ध भत्ता भन्ने गरिएको उक्त भत्ताको राशी २०७६ साउनदेखि ३ हजार रुपैयाँ पु¥याइएको छ । वर्तमान सरकारले आफ्नो पाँच वर्षे कार्यकालभित्रै त्यसलाई ५ हजार पुर्याउनेछ ।

२०७६ सालको प्रारम्भसँगै वर्तमान सरकारले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई योगदान रकम सरकारले नै वेहोर्ने गरी निःशुल्क स्वास्थ्य बीमामा आवद्ध गर्ने नीति कार्यन्वायन गर्न थालिसकेको यहाँहरुलाई विदितै छ । यतिखेर झण्डै अढाई लाख ज्येष्ठ नागरिक वार्षिक रुपमा १ लाख रुपैयाँ बराबरको तोकिएका सुविधा–सेवाहरु विभिन्न स्वास्थ्य संस्थाहरुबाट प्राप्त गरिरहनु भएको छ । चालू आर्थिक वर्षभित्र ७७ वटै जिल्लाका ज्येष्ठ नागरिकहरुलाई यस योजनामा आवद्ध गरिनेछ ।
प्रधानमन्त्री ओलीले सातवटै प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माण गर्ने सरकारको योजना कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘स्रोत र साधन अपर्याप्त हुँदाहुँदै पनि ज्येष्ठ नागरिकका लागि सरकारले सामाजिक तथा स्वास्थ्य सुरक्षाको व्यवस्था मात्र गरेको छैन । यो सरकार यातायात सेवामा पनि ज्येष्ठ नागरिकका लागि सिट आरक्षण र भाडा छुट जस्ता सुविधाको व्यवस्था गर्न समेत प्रयत्नशील छ ।’

समाचार वर्गहरू