४० अर्ब बढ्यो विनोद चौधरीको सम्पत्ति

12

काठमाडौं – विश्वका अर्बपतिहरूको सम्पत्ति घटिरहेका बेला नेपालका एक मात्र खर्बपति विनोद चौधरीको भने सम्पत्ति बढेको छ । फोब्र्सले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको समग्र सम्पत्ति मूल्य ५ खर्ब डलर (५ सय बिलियन) घटेको छ भने चौधरीको सम्पत्ति बढेको छ ।

नेपालका विनोद चौधरी पनि अर्बपतिको १६४७औं स्थानमा परेका छन् । यसअघि गत वर्षको अप्रिल महिनासम्म उनी १९ सय ६५औं स्थानमा थिए । चौधरीको सम्पत्ति १ अर्ब ८० करोड डलरबराबर रहेको फोब्र्सको सूचीमा उल्लेख छ ।

६७ वर्षीय चौधरी सन् २०१३ मा पहिलोपटक फोब्र्सको डलर अर्बपतिको सूचीमा प्रवेश गरेका थिए । त्यसको ठीक १० वर्षपछि सन् २०२३ को सूचीमा अर्बपति विनोद चौधरी विश्वका अर्बपतिहरूको सूचीमा २८२औं स्थान माथि उक्लिएका छन् । चौधरी नेपालका एक मात्र डलर अर्बपति हुन् ।

यस वर्ष चौधरीको सम्पत्ति गत वर्षको तुलनामा ३० करोड अमेरिकी डलरले बढेको फोब्र्सले जनाएको छ । गत वर्ष उनको कुल सम्पत्ति १ दशमलव ५ अर्ब डलर थियो । सीजी ग्रुप ग्लोबल, नबिल बैंक, सीजी फुड्सलगायत विभिन्न कम्पनीसँग आबद्ध चौधरीको व्यापार नेपालसँगै भारत, बंगलादेश, पाकिस्तानलगायत देशमा फैलिएको छ ।

सम्पत्तिको स्रोतमा विविध क्षेत्रहरूको आर्जनलाई उल्लेख गरेका चौधरी वाइवाइ चाउचाउको उत्पादक कम्पनीका मालिकका रूपमा पनि विश्वभर चिनिएका छन् । उनको कम्पनी सीजी कर्प ग्लोबलले विश्वभर हस्पिटालिटी तथा अन्य क्षेत्रमा आफ्नो लगानी विस्तार गरेको छ ।

उनको सम्पती २०१५ मा १ दशमलव ३ अर्ब डलर, सन् २०१६ मा १ दशमलव १ अर्ब डलर, २०१७ मा १ दशमलव ३ अर्ब डलर, २०१८ मा १ दशमलव ५ अर्ब डलर पुगेको थियो । यसैगरी, २०१९ मा १ दशमलव ७ अर्ब डलर, २०२० मा १ दशमलव ४ अर्ब डलर, २०२१ मा १ दशमलव ४ अर्ब डलर, २०२२ मा १ दशमलव ५ अर्ब डलर रहेकामा सन् २०२३ मा आइपुग्दा चौधरीको सम्पत्ति १ दशमलव ८ अर्ब डलर पुगेको हो ।

फोब्र्सका अनुसार अर्बपतिहरूको सूचीमा पहिलो नम्बरमा फ्रान्सका बेर्नार्ड अर्नोल्ट परेका छन् । लुइस भ्यूटन तथा सेफोसहित विभिन्न ७५ कस्मेटिक ब्रान्डका ७४ वर्षे मालिक बेर्नार्डको समग्र सम्पत्ति भने बढेको छ ।

विश्वका दोस्रो धनी व्यक्तिका रूपमा रहेका टेस्ला कम्पनी र ट्वीटरका मालिक एलन मस्कसहित आधा संख्याका अर्बपतिको सम्पत्ति पहिलेको तुलनामा घटेको छ । गत वर्ष पहिलो नम्बरमा रहेका मस्कको सम्पत्ति अहिले घटेर १ खर्ब ८० अर्ब डलर हाराहारीमा झरेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू