उद्योग वाणिज्य महासंघको चयन सम्पन्न: वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ विधान अनुसार स्वतः अध्यक्षको जिम्मेवारी

4

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६० औं साधारण सभाबाट नयाँ नेतृत्व अञ्जन श्रेष्ठले सम्हालेका छन । महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान व्यवस्था अनुसार उनी अध्यक्ष भएका हुन । अध्यक्षको कार्यकाल तीन वर्षको हुन्छ ।

महासंघ विधानको दफा २९ को उपदफा ३ मा उपदफा २९.२ मा जुनसुकै कुरा लेखिएको भए तापनि यो विधान लागु हुँदाका बखत कायम वरिष्ठ उपाध्यक्ष आगामी एक कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछ र सो पश्चात महासंघ अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था रहेको उल्लेख छ । सोही विधानको व्यवस्थाका आधारमा श्रेष्ठ महासंघको स्वतः अध्यक्ष बनेका हुन् ।

महासंघ कार्यकारिणी समिति अध्यक्ष बाहेक पदाधिकारी तथा सदस्यहरूको मंलबार निर्वाचन भएको थियो । महासंघमा वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष हुने श्रेष्ठ चौथो हुन् । यसअघि स्वतः अध्यक्ष हुनेमा भवानी राणा, शेखर गोल्छा र चन्द्रप्रसाद ढकाल रहेका थिए । बुधबारदेखि महासंघ अध्यक्ष घोषणा भएका श्रेष्ठ व्यावसायकि घराना लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन् ।

उनले अटो, सेवा, पर्यटन, उत्पादनमूलक लगायत क्षेत्रमा लगानी गरेका छन् । २०५९ सालमा महासंघमा कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेका श्रेष्ठसँग विभिन्न समितिमा रहेका काम गरेको अनुभव पनि छ । महासंघको ५७औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका उनी २०४५ सालदेखि पारिवारिक व्यवसायमा संलग्न छन् ।

महासंघको निर्वाचनमा वस्तुगत सदस्यमा अरनिको राजभण्डारी सहित विजयी भएका छन् । सदस्यमा नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे विजयी भएका छन् ।

त्यस्तै सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउनेको समान (५०–५० मत) आएपछि आधाआधा समयको कार्यकालको व्यवस्था गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन् ।

पाण्डेले ज्योत्सना श्रेष्ठलाई पराजित गरेका हुन । महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । शर्माले ८७ र श्रेष्ठले ८० मत पाएका छन् । त्यस्तै वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले ६३ मत पाए । शिवप्रसाद घिमिरेले ६० मत पाए । महिला सदस्यमा गीता अमात्य विजयी भइन् । उनले ८१ मत पाइन् । हीरा भट्टराईले ६३ मत ल्याएर विजयी भइन् ।

समाचार वर्गहरू