गोल्छा र विशाल समूहद्वारा चिनीमा कृत्रिम अभाव सृजना गरि कार्टेलिङ्ग सुरु

4

काठमाडौं । भारत सरकारले चिनीको निर्यातमा रोक लगाएको मौका छोप्दै नेपाली चिनी व्यवसायीले कृत्रिम अभाव सृजना गरि कार्टेलिङ्ग सुरु गरिएको छ । भारतले चिनी निर्यात बन्द गरेसँगै यसको मौका छोपेर विराटनगरका व्यवसायीले रातारात चिनीको हाहाकार मच्चाएर चर्को मूल्य असुल्न थालेपनि सरकारको सम्बन्धीत निकायको अझै ध्यान गएको छैन । सुनसरी जिल्लामा रहेको इस्टर्न सुगर मिल सञ्चालन गर्दै आएको गोल्छा समूह र विशाल समूहको व्यवसायी ग्रुपदेखि चिनीको ट्रेडिङ्ग कारोबारीहरू समेतको संमलग्नतामा कार्टेलिङ्ग सुरु गरिएको बताइएको छ ।

भारत सरकारले चिनीको निर्यातको बन्द गरेको सूचना सार्वजनिक गरेको एकै दिनदेखि व्यापारीहरूले कार्टेलिङ्ग गरी चिनीको हाहाकार मच्चाएका छन् । चिनीको कृतिम अभाव सृजना गरी चर्को मूल्य असुली गर्न थालेपछि यहाँका उपभोक्ता मारमा परेका छन् । सुनसरी मोरङ औद्योगिक करिडोरमा रहेका बिस्कुट, चकलेट र जुस उद्योगीहरू चिनी अभावका कारण समस्यामा परेको बताउन थालेका छन् । बिस्कुट, चकलेट र जुस उद्योगहरूका लागि मात्रै दैनिक दश हजार मेट्रिक टनभन्दा बढी चिनीको आवश्यकता पर्ने उद्योगी भनाइ छ ।

उनीहरूले चाडोभन्दा चाडो भारतबाट चिनी आयात गर्ने वातावरण बनाउन सरकारसंग माग गरेका छन् । नभए अधिकांश कन्फेक्सनरी, चकलेट र जुस उद्योगहरू बन्द हुने अवस्थामा पुग्ने उनीहरूको भनाइ छ । चिनीको ट्रेडिङ्ग कारोबारीबाट महंगो मूल्यमा चिनी खरिद गरेर उद्योग सञ्चालन गर्न नसक्ने उद्योगीहरू बताउँछन् । पछिल्लो समय चिनीका कारोबारीहरूले सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको बीओपीसँग समेत सेटिङ्ग गरी ट्रकमै अवैध चिनी आयात गर्दा पनि सरकार मौन बसेर रमिता हेरिरहेको उद्योगिहरूको दाबी छ ।

चिनीको आयात गरी ट्रेडिङ्गको कारोबारबाट कमाउन पल्केका चिनी व्यवसायीहरूलाई यतिबेला मालामाल हुने अवसर आएको स्थानीय बताउँछन् । चिनीमा लामो समयदेखि ट्रेडिङ्गको कारोबार गर्ने कारोबारीहरूले अहिले बजारमा रातारात कृतिम अभाव सृजना गरेको आरोप खुद्रा व्यवसायीले लगाएका छन् । साल्ट ट्रेडिङ्गले आफूसँग चिनीको मौजात पर्र्याप्त भएको बताए पनि सरकारको झन्झटिलो प्रावधानका कारण उक्त चिनी उठाउन कम्तीमा १५ दिन लाग्ने गरेको गुनासो उद्योगिहरूको छ ।

भारत सरकारले चिनी निर्यात रोक्नु भन्दा अगाडि नै चिनी व्यवसायीहरूले बिराटनगर भन्सार नाका भएर पाकिस्तान, थाइल्यान्ड, ब्राजिल, बंगलादेश, युनाइटेड अरब इमिरेट्स आदि मुलुकबाट ठूलो परिमाणमा चिनी आयात गरी स्टोर गरेर राखेको स्रोतको दाबी छ । सरकारले भारतसँग कुटनीतिक पहल गरी चिनीको नयाँ आयात नखुलाएमा चिनी माफियाहरूले स्टोर गरेर राखेको सबै चिनी सरकारले नियन्त्रणमा चिनी सहुलियत मूल्यमा उपभोक्तालाई उपलब्ध गराउनुपर्ने उद्योगीहरूको भनाई छ ।

समाचार वर्गहरू