चट्याङ लागेर बाबुछोराको मृत्यु, दिदीबहिनीसहित चार घाइते

72

काठमाडौं । प्यूठानमा चट्याङ लागेर एकै घरका बाबुछोराको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानले चट्याङ लागेर आइतबार गौमुखी गाउँपालिका वडा नम्वर ६ लिवाङका ७० वर्षिय केदार बोहोरा क्षेत्री र २६ वर्षिय छाेरा रामु बोहरा क्षेत्रीको मृत्यु भएको जनाएको छ ।

अहिले मृतकको शव जिल्ला अस्पतालमा राखिएको र सोमबार पोष्टमार्टम गरिने प्यूठान अस्पतालले जनाएको छ।

चट्याङ लागेर गौमुखी गाउँपालिकाकै अन्य दुई जना घाइते भएका छन् । गौमुखी गाउँपालिका वडा नम्वर ४ निवासी २४ वर्षिया सिर्जना न्यौपाने र गौमुखी गाउँपालिका वडा नम्वर ६ निवासी ५४ वर्षिया गमी बोहोराको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ ।

शनिबार दिउँसो माण्डवी गाउँपालिका वडा नम्वर २ रातापानीका दुई जना दिदीबहिनीलाई चट्याङ लागेको थियो । २० वर्षिया कल्पना अधिकारी र १६ वर्षिया सपना अधिकारीको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ । रासस

समाचार वर्गहरू