नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य

6

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसंग भेटगरी काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका सन्दर्भमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विस्तृत छलफल गरेको छ ।

सो छलफलका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख काफ्लेले कार्यालय र नाडाविच क्रिएटिभ र दिर्घकालिन उद्धेश्यका विषयहरुमा सहकार्यगरी अघि बढ्नु पर्ने बताएका छन् । उनले पहाडीक्षेत्रमा चल्नु पर्ने ठूला सिसिका बाइकहरु पनि काठमाडौं शहरभित्र चल्ने गरेको गुनासो गर्दै बाइकको तुलनामा स्कुटरको दुर्घटना कम हुने गरेको तथ्य सार्वजनिक गरेका छन् ।

उनले नाडाले राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने भन्दै नाडाले एआई प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थाका लागि समेत पहल गर्नु पर्ने बताएका छन् । यसैक्रममा उनले सवारी साधन खरिद गर्ने हरेक ग्राहक, सर्भिस सेण्टर र पहिलो पल्ट सवारी साधन चलाउन लाइसेन्स लिने हरेक व्यक्तीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट एक घण्टा अवधिको छोटो प्रशिक्षण लिनु पर्ने व्यवस्थाका लागि आग्रह गर्दै यसबाट ट्राफिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सो छलफलमा नाडाका अध्यक्ष उपे्रतीले सो कार्यालयसंग नाडाले विगतमा गरेको सहकार्यबारे चर्चा गरेका थिए । उनले नाडाले आफ्नो आउँँदो ५० औं वार्षिक साधारण सभा अर्थात स्वर्ण उत्सवको सन्दर्भमा यही २०८३ असार १३ गते देखि १९ गतेसम्म राजधानीमा विभिन्न कार्यक्रमहरु सहित विशेष सप्ताहव्यापी कार्यक्रम मनाउन लागेको जानकारी दिएका छन् ।

उक्त कार्यक्रमलाई थप भव्य र प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भूमिका महत्वपूर्ण हुने भएकोले आवश्यक सहयोगका लागि आग्रह समेत गरेका छन् । नाडाका अध्यक्ष उप्रेतीले नाडाले स्टिकर मार्फत ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न गर्ने जानकारी समेत दिएका छन् ।

नाडाका महासचिव मिलनबाबु मल्लले सो कार्यालयसंग पहिले देखि सहकार्य गर्दै आएकोले अहिले पनि नाडाले सहकार्यगरी अघि बढ्न चाहेको बताएका छन् । नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल र कोषाध्यक्ष पंकज अग्रवाल समेतले समेत आफ्ना धारणा व्यक्त गरेका थिए ।

समाचार वर्गहरू