पूर्वाधार विकास समितिको बैठक : निर्माण व्यवसायीविरुद्ध मन्त्रीले दिएको अभिव्यक्ति प्रति सांसदद्वारा आपत्ति

4

काठमाडौँ । पूर्वाधार विकास समितिको बैठकमा सांसद वासना थापाले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अनिवार्य उपस्थितिको माग गरेकी छन्। बैठकमा आफ्नो धारणा राख्ने क्रममा सभापतिलाई सम्बोधन गर्दै सांसद थापाले आफूले उठाउन लागेका विषयवस्तु मन्त्रीलाई नै सुनाउनुपर्ने भएकाले तत्काल उपस्थित गराउन आग्रह गरेकी हुन्। बैठकमा बोल्दै सांसद थापाले भनिन्, ‘हाम्रो कुरा राख्ने बेलामा मन्त्रीज्यू आइदिए राम्रो हुन्थ्यो। उहाँहरूका (अन्य सदस्य–सरोकारवाला) कुरा त सुनियो, अब हाम्रो कुरा पनि मन्त्रीज्यूलाई नै राख्न पाउनुपर्थ्यो ।’

संसदको बैठक पनि छिट्टै सुरु हुन लागेको र आफू अर्को बैठकमा समेत जानुपर्ने भएकाले समय अभाव रहेको जनाउँदै उनले मन्त्रीको उपस्थिति बिना आफूले नबोल्ने अडान राखेकी थिइन्। ‘आजको मेरो विषय नै मन्त्रीज्यूलाई सुनाउने अत्यन्तै महत्त्वपूर्ण विषय हो। १५/२० मिनेटको कुरा हो, मैले बोल्नुभन्दा अगाडि उहाँलाई ल्याइदिनुपर्‍यो’ सांसद थापाले सभापतिसँग माग गर्दै भनिन्।

बैठकको सुरुवातमै सभापति आशिष गजुरेलले मन्त्री आउने जानकारी गराएको स्मरण गराउँदै उनले कार्यक्रमको बीचमै अवरोध गर्न नचाहेर आफूहरूले कुरिरहेको स्पष्ट पारेकी थिइन्। सांसद थापाले मन्त्री नआएसम्म नबोल्ने अडान लिएपछि समिति सभापतिले मन्त्री लम्साललाई फोन गरेर बोलाउने र त्यतिन्जेलसम्म अन्य छलफल अगाडि बढाउँदै गर्ने जवाफ दिए।

सांसद भरत बहादुर स्वारले मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीका विरुद्ध दिएको अभिव्यक्ति उनले आपत्ति जनाएका छन् । पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद स्वारले निर्माण व्यवसायी र यातायात व्यवसायीका समस्यालाई राष्ट्रिय समस्याका रूपमा सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेका छन् । सांसद स्वारले यी दुई क्षेत्रका समस्या समाधान नहुनु भनेको देशको विकास प्रक्रिया नै अवरुद्ध हुनु भएको बताएका हुन् ।

सांसद स्वारले निर्माण व्यवसायी र यातायात व्यवसायीहरूलाई राज्यको महत्त्वपूर्ण खम्बाको रूपमा चित्रण गरे। उनले भने, ‘निर्माण व्यवसायी र यातायात व्यवसायीहरू पनि यही देशका नागरिक हुन् । उनीहरूको काममा बाधा पुग्नु वा समस्या आउनु भनेको देशकै विकासमा बाधा पुग्नु हो । त्यसैले उनीहरूको मनोबल बढाउनु सरकारको प्राथमिक कर्तव्य हुनुपर्छ ।’

सांसद स्वारले निर्माण व्यवसायी र यातायात क्षेत्रका समस्याहरूलाई ससाना विषय भनेर पन्छाउन नमिल्ने बताए । उनले थपे, ुनिर्माण व्यवसायी र यातायात व्यवसायीका समस्याहरू केवल उनीहरूका मात्र समस्या होइनन्, यी देशकै समस्या हुन् । सरकारले यिनको दीर्घकालीन समाधानका लागि उचित पहल गर्नुपर्छ र यसलाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।

सांसद स्वारले पूर्वाधार विकास समितिमा आउने यी क्षेत्रका समस्याहरूलाई केबल छलफलमा मात्र सीमित नराखी मन्त्रालयमार्फत तत्काल कार्यान्वयनको चरणमा लैजानुपर्नेमा जोड दिए । उनले सम्बन्धित मन्त्रालयका अधिकारीहरूलाई जिम्मेवार बन्न निर्देशन दिँदै समस्या समाधानका लागि हरेक बैठकमा ठोस कार्यसूची तय गर्नुपर्नेसमेत सुझाव दिएका छन् ।

समाचार वर्गहरू