पद जोगाउन गृहमन्त्री गुरुङको दौडधुप : सभापति रवि लामिछाने भेट्न बुढानीलकण्ठमा

6

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । गुरुङ सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्ट र व्यापारिक घराना शंकर ग्रुप लगायतसँग बिजनेस पार्टनर भएको खुलेसँगै उनी प्रश्नको घेरामा छन् ।

यहीबिचमा उनले सोमबार बिहान पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका हुन् । उनी लामिछानेलाई भेट्न बुढानीलकण्ठस्थित निवास पुगेको स्रोतले पुष्टि गरेको छ । गोरखा–१ बाट निर्वाचित सांसद रहेका उनी चैत १३ गते गृहमन्त्री बनेका थिए ।

गुरुङलाई कारबाही गर्ने सम्बन्धमा पार्टीभित्र उच्च नेताबिच छलफल भएपछि उनको दौडधुप बढेको छ । उनलाई कारबाही गर्नेरनगर्ने विषयमा आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिने बताइएको छ । कारबाहीको सम्बन्धमा पार्टी अनुशासन आयोगले पनि आन्तरिक गृहकार्य थालेको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा प्रत्यक्ष साझेदारी भेटिएका गृहमन्त्री गुरुङ आइतबार राति रास्वपा सभापति लामिछानेलाई भेट्न पुगेका थिए। भट्टसम्बद्ध स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात आइतबार सार्वजनिक भएको थियोे ।

अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ साझेदार हुँदा अनुसन्धान प्रभावित हुने भनी उनले राजीनामा दिनुपर्ने माग सत्तारूढ रास्वपामा उठ्न थालेको छ । राजीनामाको दबाब बढेपछि मन्त्री गुरुङ बूूढानीलकण्ठस्थित लामिछाने निवासमा पुगेका हुन् । बेलुकी ८ बजेपछि पुगेका उनी राति १० बजेको हाराहारीमा निस्किएको सुरक्षास्रोतले जनाएको छ ।

गुरुङ लामिछानेको घर पुग्दा परिवारका सदस्य र पार्टीका कोही पनि सहकर्मी थिएनन् । रास्वपास्रोतका अनुसार गुरुङले प्रधानमन्त्री बालेन्द्र साह र लामिछानेबीच फोन संवाद गराउँदै राजीनामाको दबाब मत्थर पार्ने प्रयास गरेका थिए । सभापति लामिछानेले सोमबार पनि पार्टीको बैठक जारी रहेको र आफ्नो कुरा बैठकमै राख्न सकिने भनेको स्रोतले जनाएको छ ।

समाचार वर्गहरू