पूर्वउर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश

4

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश दिएको हो । आज उक्त रिटमाथि वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने, सतिष्कृष्ण खरेल र अधिवक्ताहरू प्रकाश रेग्मीले बहस गरेका थिए ।

त्यस्तै नायवमहान्यायाधिवक्ता सञ्जिवराज रेग्मी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले बहस गरेका थिए । सर्वोच्चले यस मुद्दाको पेसी भोलि (वैशाख ३) गतेका लागि तोकेको छ । ‘निज निवेदकलाई हाल जे जुन अवस्थामा यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा थप आदेश समेत जारी गरिदिएको छ । नियमानुसार गर्नू ‘ आदेशमा उल्लेख छ । खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको हो ।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनको उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले नै बताएका थिए । खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो । जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए ।

आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थियो । कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेका तस्बिर र भिडियो पनि सार्वजनिक भएका थियो । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।

समाचार वर्गहरू