‘म शक्तिशाली छु, लोकप्रिय छु भनेर जे पनि गर्न पाइँदैन,’- गगन थापा

59

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रधानमन्त्री संविधानभन्दा माथि नभएको बताएका छन्।

उनले कानुनभन्दा माथि सरकार र प्रधानमन्त्री दुवै नभएकाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई राजनीतिक ‘स्टन्ट’ वा खेलाँचीको विषय नबनाउन आग्रह गरे।

सुनसरीको लौकहीमा शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको कोशी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण उद्घाटन कार्यक्रममा सभापति थापाले भने- ‘संविधान संशोधनलाई दुई–चार जना बसेर यता चलाउने, उता बिगार्ने जस्तो गरेर अपरिपक्व ढंगले अघि बढाउने प्रयासले राजनीतिक र संवैधानिक जटिलता निम्त्याउन सक्छ। यत्रो दुःख गरेर द्वन्द्वलाई समाधान गरिएको छ ।’

‘म शक्तिशाली छु, म लोकप्रिय छु भनेर जे पनि गर्न पाइँदैन,’ थापाले भने, ‘सरकार र प्रधानमन्त्रीले संविधानअनुसार सम्हालिएर काम गर्नुपर्छ। सरकार र प्रधानमन्त्री दुवैलाई कानुनले बाँधेको हुन्छ।’ उनले सनक चलेका भरमा डोजर लगाएर सुकुम्बासी बस्ती तहसनहस बनाउन नपाइने बताए।

‘ठीक छ, सुकुम्बासीलाई व्यवस्थित गर्नुपर्छ। तर कानुनी दायराभित्र रहेर काम गर्नुपर्छ,’ उनले भने, ‘सरकारलाई मन लाग्यो, झोक चल्यो भनेर दिनदहाडै व्यवसायी उठाइदिने, बैंकको सिइओ उठाउने, जसलाई जे मन लाग्यो त्यही गर्ने अनि घोक्रेठ्याक लगाउने कामप्रति हाम्रो पार्टीको घोर विरोध छ।’ उनले निर्माण व्यवसायीलाई ‘थुन्छु र रुखमा बाँधेर ठीक पार्छु’ भनेर प्रधानमन्त्रीले अभिव्यक्ति दिनु गलत भएको बताए।

सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई राष्ट्रिय सरोकारका विषयमा अघि बढ्न आह्वान गर्नुपर्नेमा प्रधानमन्त्री नै संसदमा नआउनु संसदको हितमा नभएको उनले बताए ।

‘जेनजी पुस्ताको आन्दोलनमा भएको घटनाबारे मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । भदौ २३ गतेसँगै २४ जनधनको क्षति गर्नेलाई पनि कानुनी कठघरामा ल्याउनुपर्छ,’ उनले भने ।

समाचार वर्गहरू