लिपुलेकका विषयमा भारतको यस्तो प्रतिक्रिया

103
फोटो रासस

काठमाडौँ ।  नेपाल सरकारले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने विषयमा व्यक्त गरेको असहमतिप्रति भारतले आफ्नो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आइतबार एक विज्ञप्ति जारी गर्दै यस विषयमा भारतको अडान स्पष्ट र सुसंगत रहेको बताएका हुन्। भारतीय पक्षका अनुसार लिपुलेक भञ्ज्याङ सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग हो र यो कुनै नयाँ विकास होइन।

भारतले नेपालले गरेको क्षेत्रीय दाबीहरू जायज नभएको र ती ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित नरहेको उल्लेख गरेको छ। यस्तो एकपक्षीय र कृत्रिम रूपमा गरिएको क्षेत्रीय दाबीको विस्तार मान्य नहुने भारतको भनाइ छ। सीमा सम्बन्धी विवाद लगायत द्विपक्षीय सम्बन्धका सबै विषयमा नेपालसँग रचनात्मक संवाद र कूटनीतिक माध्यमबाट समाधान खोज्न भारत सधैं खुला रहेको विज्ञप्तिमा जनाइएको छ।

हिजो मात्रै परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो। मन्त्रालयले १८१६ को सुगौली सन्धि बमोजिम महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग भएको बताएको छ ।

समाचार वर्गहरू