पर्यटनमन्त्री पौडेलले सरकारी जग्गा हड्पेर बनाए आलिशान महल, लागेन डोजर

6

काठमाडौं । समाजको बेथितिविरुद्ध अटेर गर्ने अटेरी अभियान हुँदै मन्त्री बन्न सफल भएका पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) को पोखरामा रहेको घरको लालपुर्जा र नक्सापास दुवै नभएको खुलेको छ। पौडेलको पोखरा महानगरपालिका–१४ मझेरिपाटन सेतो रंगको साढे एक तले घर रहेको छ। मन्त्री भएर काठमाडौं नआएसम्म उनी त्यही घरमा बस्दै आएका थिए।

पौडेल निकट स्रोतका अनुसार सो घर पौडेलले नै बनाएका हुन्। तर सो घरको न त लालपुर्जा देखियो न त नक्सापास नै। पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष बोधबहादुर कार्कीले मन्त्री पौडेलले किनेको जग्गामा घर बनाएको सुनेको तर सो घरको पुर्जा र नक्सापास नदेखिएको र स्थानीय कर लगायत पनि तिर्ने नगरेको बताए। मन्त्री पौडेलको घर रहेको क्षेत्रमा ८० देखि सय घरहरूको लालपुर्जा नभएको र ऐलानी जग्गामा घरहरू बनाएर बसेको देखिएको र लालपुर्जा समेत नभएकाले स्थानीय सरकारले नक्सापास गर्नेदेखि कर लिनेसम्मको कुनै काम नगरेको बताए।

पौडेलको अधिकांश जग्गा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा अधिग्रहणमा परेको थियो। पौडेल कुनै समय विमानस्थल पीडित संघर्ष समितिमा सक्रिय थिए। मन्त्री निकट स्रोतका अनुसार घरबारे विवाद सुरु भएपछि उनले सो जग्गाको लालपुर्जा नभएको स्वीकार गरेका छन्। उनले पछि लालपुर्जा बन्ला नि भनेर जग्गा लिएको बताएको निकट स्रोतले उकेरालाई जानकारी दियो। तर उनीसँग घर र जग्गाबारे जानकारी लिन उकेराले गरेको प्रयास सफल भएन।

मझेरी मञ्जिल पनि शंकामा

साहित्यिक क्षेत्रमा सक्रिय पौडेलले विजयपुर खोलाको किनारमा वडा नम्बर १४ र २६ जोड्ने विजयपुर खोलासँगै तारे भिरमाथि मझेरी मञ्जिल नामक रेस्टुरेन्ट चलाएका छन्। यो रेस्टुरेन्ट अस्थायी संरचनामा बनेको छ। यो जग्गा उनको पुर्ख्यौली रहेको खुले पनि उनले बनाएको संरचनाहरू भने खोलाको मापदण्ड भित्रै पर्ने देखियो।

वडाध्यक्ष बोधबहादुर कार्कीका अनुसार पोखरा महानगरपालिकाले तोकेको मापदण्ड अनुसार विजयपुर खोलाको ३० मिटर बाहिर मात्र संरचना बनाउन पाइन्छ। कार्कीले खोलाको सीमाभित्र स्थायी र अस्थायी संरचनाहरू रहेको र मन्त्री पौडेलले निर्माण गरेको संरचना मापदण्ड भित्रै पर्छ या बाहिर त्यसबारे एकिन गर्न प्राविधिक जाँच गर्नुपर्ने बताए।

“उहाँ नातामा मेरो भाइ नै पर्नुहुन्छ। त्यसैले त्यो जग्गा उहाँको पुस्तैनी हो भन्ने जानकारी छ,” वडाध्यक्ष कार्कीले उकेरासँग भने “ मझेरी मन्जिल खोलाको आडमै रहेकाले मापदण्ड पुगेरनपुगेबारे प्राविधिक जाँचबुझ गर्नुपर्ने हुन्छ।”

प्रधानमन्त्री बालेनका प्रिय गनेस

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर वालेन्द्र शाहले अभियान सुरु गर्दा साहित्यिक क्षेत्रमा सक्रिय गनेशले पोखरामा एकाएक अटेरी अभियानको नाममा स्वतन्त्र उम्मेदवारको रूपमा अभियान सुरु गरेका थिए।

महानगरमा वालेन्द्रले लौरौ चिन्ह पाउँदा उनको समूहले पनि लौरो चिन्ह नै लिएका थिए। काठमाडौंमा बालेन निर्वाचित भए तर पोखरामा गनेशको टिमलाई मतदाताले विश्वास गरेनन्। त्यसपछि उनी आफ्नो पुरानो दैनिकीमै फर्किए। यो बिचमा वालेन्द्रसँग उनको निकटता बनिसकेको थियो। उनको पोखराको मझेरी मञ्जिल बालेनको प्रिय बनिसकेको थियो।

उनी श्रीमतीसहित त्यहाँ जाने गरेका थिए। जेनजी आन्दोलनपछि जब वालेन्द्र राजनीतिमा सक्रिय हुने अभियानमा लागे गनेश पनि त्यसमा जोडिए। प्रारम्भमा वालेन्द्रले देश विकास पार्टीलाई सक्रिय गराउने अभियान सुरु गरेपछि त्यसको घोषणा पत्र लेखनदेखिको काममा गनेश संलग्न थिए। एकाएक बालेन देश विकास पार्टीको साटो राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि गनेस पनि त्यतै लागे र सहजै कास्कीमा टिकट पाएर निर्वाचित भएर पर्यटन मन्त्री बने भन्दै उकेराले समाचार प्रकाशन गरेको छ ।

समाचार वर्गहरू