वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्साको ठोरीबाट पक्राउ : पर्सा हिरासतमा राखी अनुसन्धान सुरु

5

काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्साको ठोरी एरियाबाट मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। ठोरीमा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको अप्रेशनबाट मेयर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले जानकारी दिएका छन्।

जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछि सिंह पक्राउ परेका हुन्। मेयर सिंहले अर्काकी छोरीलाई आफ्नो भनी जन्मदर्ता गरेको, सोही आधारमा नागरिकता र राहदानी बनाएर विदेश पठाएको आरोप छ। जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानपछि मेयर सिंहसहित चार जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो।

अदालतले उनीहरूविरुद्ध सातदिने र ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो। अदालतले पक्राउको अनुमति दिएपछि एकदिन अदालतमा उपस्थित भएपछि उनी फरार भएका थिए। मुलुकी अपराध संहिता २०७४ अनुसार किर्ते कागजको दफा २७६ को उपदफा १, २ र ३ (ग) बमोजिम सरकारी वा सार्वजनिक लिखत कसुर गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

मेयर सिंहलाई पनि सोही सजाय माग गरिएको छ। गएको १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । स्थानीय लियाकत अलीको जाहेरी बमोजिम जिल्ला अदालत पर्साले मेयर सिंहसहित तीनजना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपुछ चलिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

समाचार वर्गहरू