काठमाडौं – चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्नेगरी त्रिशूली नदीमा बनाइँदै गरेको मोटरेबल पुल गत चैत २४ गते बिहान भत्कियो। निर्माणाधीन उक्त पुल भत्किँदा एक मजदूरको ज्यानसमेत गयो। यो एउटा प्रतिनिधि उदाहरणमात्र हो। पछिल्लो समय निर्माणाधीन र सञ्चालनमा आएको केही समयमै पक्की पुल भत्किने क्रम बढेको छ। चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल भत्केपछिका तीन महिनामा सडक विभाग मातहतका कम्तीमा २१ वटा पुल भत्किएका छन्।
विभाग मातहतबाहेक प्रदेश र केही स्थानीय तहले निर्माण गरेका पुल पनि भत्किएका छन्। विभागका महानिर्देशक अर्जुनजंग थापाले वैशाखयता २१ वटा पक्की पुल भत्केको जानकारी दिए। यसमध्ये ११ वटा निर्माणाधीन र १० वटा निर्माण सम्पन्न भएका पुल हुन्। थापाका अनुसार पुल भत्किँदा दुई अर्बभन्दा धेरै लगानी नोक्सान भएको छ। यसले निर्माणमा गम्भीर लापरबाही भएको देखाएको छ।
नेपालमा पक्की पुल बारम्बार भत्किनुमा गुणस्तरीय निर्माणमा गरिने खेलाँची र डिजाइनमै त्रुटि मुख्य कारण भएको विज्ञहरूले बताउँदै आएका छन्। सरकारले लागत घटाउने नाममा तराई क्षेत्रमा कम उचाइका पुल बनाएकाले पनि समस्या आउने गरेको छ। नदीमा सामान्यभन्दा केही बढी रुपमा बाढी आएमा कम उचाइका पुलमा क्षति पुग्ने, भत्किने र पिल्लर भासिने गरेको छ। यही असारमा बाढीले तराईका केही पुलहरूमा क्षति पुर्याएको छ। यो वर्ष बर्खा सुरु भइसकेको छ। प्रि–मनसुनकै बेला भएको क्षतिले आगामी दिन झनै भयावह हुने संकेत मिलेको छ।
विभागका महानिर्देशक थापाका अनुसार बाढीपहिरोका कारण क्षतिग्रस्त भएका पुलमध्ये १० वटा विभागले मर्मतसम्भार गर्नुपर्ने रहेका छन्। ‘निर्माणाधीन अवस्थामा भत्किएका पुलको आर्थिक भार ठेकेदार कम्पनीमा रहन्छ,’ उनले भने, ‘हस्तान्तरण नभएका पुलको आर्थिक भार विभाग मातहत आउँदैन।’ सडक विभागले १० वटा पुल पुनर्निर्माणका लागि ३० देखि ४० करोड रुपैयाँ लाग्ने अनुमान गरेको उनले बताए। थापा धेरै वर्षपछि ठूलो बाढीपहिरो आएकाले धेरै पुलमा क्षति भएको बताउँछन्। ‘अघिल्ला वर्षको तुलनामा अहिले बाढीपहिरोले पुल तथा सडकका संरचना धेरै भत्काएको छ,’ उनले भने, ‘बाढीपहिरो अचानक आउने गर्छ। बाढीपहिरोले जोगाउने गरी पुलको डिजाइन गरिएको हुँदैन।’ सडक विभाग मातहत मुलुकभर २२ सय पुल छन्।
स्थानीय तह मातहत ८ सय पुल छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसहसचिव तथा इन्जिनियर राजेन्द्रराज शर्माका अनुसार पुल भत्किनुमा कमजोर डिजाइन र निर्माणमा लापरबाही मुख्य कारण हुन्। ‘नेपालका अधिकांश पुल स्ट्रक्चरभन्दा पनि हाइड्रोलोजिकल (पानी सम्बन्धित) कारणले भत्किने गर्छन,’ उनले भने, ‘पुलको जमिनमुनिको फाउन्डेसन बलियो नहुँदा पानीले खोस्रिएर भत्किने गर्छ। अर्काेतर्फ पानीमुनिको संरचना बनाउन निकै सावधानी अपनाउनुपर्ने हुन्छ। तर, हामीकहाँ अदक्ष कामदारले नै काम गर्दा धेरै जटिलता देखिने गरेको छ।’
शर्मा ठेकेदार कम्पनीले पुल निर्माणमा दक्ष इन्जिनियर नखटाउँदा पनि भत्किने समस्यमा दोहोरिएको दाबी गर्छन्। ‘ठेकेदार कम्पनीले मिस्त्रीकै भरमा पुलको फाउन्डेसनको काम जिम्मा लगाउने गरेको देखिन्छ,’ उनले भने, ‘यसो गर्दा जमिनमुनिको स्ट्रक्चर कमसल भएकाले सानो बाढीपहिरोले पनि पुलको जग भत्काउने समस्या देखिएको छ।
अर्काेतर्फ एउटा सरकारी इन्जिनियरले ५० भन्दा धेरै पुलको अनुगमन तथा सुपरीवेक्षण गर्नुपर्ने बाध्यता छ। त्यसैले पर्याप्त अनुगमन तथा निरीक्षण गर्न सकिँदैन। इन्जिनियर शर्माका अनुसार पुल निर्माणमा पानीको बहावलाई समेत ख्याल नगर्दा सानातिना बाढीपहिरोले समेत भत्काउने गरेको देखिएको छ। ‘सबै पुल एउटै कारणले भत्किएको भन्न सकिँदैन,’ उनले भने, ‘पुल भत्किएपछिको अध्ययबाट पुलको डिजाइनमा ध्यान नदिँदा पनि भत्किने समस्या दोहोरिएको देखिन्छ।’
सरकारी इन्जिनियरहरूको अनुगमनमा हुने लापरबाहीको फाइदा ठेकेदार कम्पनीहरूले कमसल निर्माण सामग्री प्रयोग गरी लिन्छन्। काठमाडौं उपत्यकामा नै चर्चित ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले पुल निर्माण गर्दा जगमा गरेको लापरबाही एउटा उदाहरण हो। यो कम्पनीले कालीमाटी नजिकको विष्णुमती र तिनकुनेमा पुल निर्माण गर्दा जग नै कमजोर बनाएको फेलापरेको थियो। जग कमजोर भएको देखिएपछि विष्णुमती पुल निर्माण सम्पन्न भए पनि अझै प्रयोगमा आएको छैन। तिनकुनेको पुलको ठेक्का नै रद्द भएको छ। राजधानीमै अनुगमन गर्न नसक्ने कर्मचारीले मुलुकका अन्य दुर्गम क्षेत्रमा अनुगमन गर्छन् भन्ने आधार छैन। नागरिकन्युज बाट ।