इरानले द्वन्द्वको स्थायी समाधानका लागि १४ बुँदे नयाँ प्रस्ताव पेश

7

काठमाडौ । इरानले द्वन्द्वको स्थायी समाधानका लागि १४ बुँदे नयाँ प्रस्ताव पेश गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्रस (आईआरजीसी) सम्बद्ध तस्निम समाचार एजेन्सीका अनुसार पाकिस्तानी मध्यस्थकर्तामार्फत पठाइएको प्रस्तावमा लेबनानसहित सबै मोर्चाहरूमा युद्ध अन्त्य गर्न आह्वान गरिएको छ।

इरानले अमेरिकाको ९ बुँदे प्रस्तावको जवाफ दिँदै सैन्य आक्रमणविरुद्धको ग्यारेन्टी, इरान वरपरको क्षेत्रबाट अमेरिकी सेनाको फिर्ती, रोक्का गरिएको इरानी सम्पत्तिको रिहाइ र प्रतिबन्धहरू हटाउनुपर्ने सर्तहरू अघि सारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। समाचारअनुसार इरानको कदमबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालै प्रतिक्रिया दिँदै प्रस्तावित योजनामाथि आफू विश्वस्त नरहेको संकेत गरेका छन्।

ट्रुथ सोसलमा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘म चाँडै इरानले हामीलाई पठाएको योजनाको समीक्षा गर्नेछु, तर कल्पना गर्न सक्दिनँ कि यो स्वीकार्य हुनेछ किनकि उनीहरूले विगत ४७ वर्षमा मानवता र विश्वलाई गरेको कामको लागि पर्याप्त मूल्य तिरेका छैनन्।’ फ्लोरिडामा एयर फोर्स वानमा चढ्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले आफूलाई सम्झौताको अवधारणाबारे जानकारी गराइएको र त्यसको विस्तृत अध्ययन गर्ने बताए।

यद्यपि, एक विज्ञप्तिमा उनले इरानको योजनाबाट आफू सन्तुष्ट नभएको स्पष्ट पार्दै भनेका थिए, ‘इरान सम्झौता गर्न चाहन्छ, तर उनीहरू आफ्ना प्रस्तावहरूबाट सन्तुष्ट छैनन्। अब हेरौँ अब के हुन्छ।’  इरानले युद्धविरामको समयसीमाका विषयमा पनि अमेरिकाभन्दा फरक मत राखेको छ। अमेरिकाले दुई महिनाको युद्धविराम प्रस्ताव गरेकोमा इरानले ३० दिनभित्रै सबै मुद्दाहरू समाधान गरिनुपर्ने अडान राखेको छ।

इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले राजधानी तेहरानमा विभिन्न राजदूतहरूसँगको भेटमा इरानको प्रस्ताव युद्धको स्थायी अन्त्यमा लक्षित रहेको दाबी गरे। उनले कडा शब्दमा भने, ‘अब बल कूटनीतिको बाटो वा टकरावको दृष्टिकोणलाई निरन्तरता दिने छनौट गर्ने संयुक्त राज्य अमेरिकाको कोर्टमा छ।’ इरानी सरकारी मिडियाका अनुसार होर्मुज जलमार्गका लागि नयाँ संयन्त्र लागू गर्ने र शत्रुतापूर्ण देशका जहाजहरूमाथि प्रतिबन्ध लगाउने कानुन समेत इरानको संसद्ले अनुमोदन गर्ने तयारी गरेको छ।

कूटनीतिक खिचातानी जारी रहँदा क्षेत्रमा सैन्य तयारी र तनाव भने मत्थर भएको छैन। अमेरिकाले मध्यपूर्वका आफ्ना सहयोगीहरूलाई ८ अर्ब डलरको हतियार बिक्री गर्ने प्रक्रियालाई तीव्र बनाएको छ। अर्कोतर्फ, लेबनानमा घोषित युद्धविरामका बावजुद इजरायली सेना र हिजबुल्लाहबीच शनिबार पनि एकअर्कामाथि आक्रमणहरू जारी रहेका छन्। इरानले पठाएको योजनाले कूटनीतिक निकास दिने वा दुई देशबीचको टकरावलाई थप उचाइमा पु¥याउने भन्ने कुरा अब वासिङ्टनको आगामी कदममा निर्भर देखिएको छ।

समाचार वर्गहरू