काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (सोमबार) अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउसो १ बजे बैठक बस्न लागेको कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका छन् । जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो ।
११ औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने समेत बताइएको छ । बैठकले केन्द्रीय सदस्यलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने समेत बताइएको छ । हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिने जनाइएको छ ।
यसैगरी केन्द्रीय विभाग तथा निकायमा जिम्मेवारी बाँडफाँड गरिने जनाइएको छ । आजको बैठकले फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मितिसमेत तोक्ने ती पदाधिकारीले जानकारी दिएको छ ।
आजको बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उनीहरुको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरुले जनाएका छन् ।