किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न

49

रासस/काठमाडौं – बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तरराष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक क्षेत्रको ४५ औँ सम्मेलन सम्पन्न भएको छ । सम्मेलन आयोजक समितिका अध्यक्ष मोहन लम्सालले नेपाली र विदेशी गरेर चार सयमध्ये करिब तीन सय विदेशीको सहभागिता रहेको सम्मेलन सफलतापूर्ण सम्पन्न भएको बताए ।

बालबालिकामार्फत् विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न अग्रसर रहेको संस्थाको स्थापना नेपालमा सन् २०१५ मा भएको उनले जानकारी दिए । “हामीले विभिन्न जिल्लामा बालबालिकालाई स्टेसनरी, खाजा, खेलकुद सामग्रीलगायतका समान प्रदान गर्दै आएका छौं, बालबालिकाको नेतृत्व विकास, मनोवैज्ञानिक परामर्शलगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छौं”, अध्यक्ष लम्सालले भने ।

किवानिज एसिया प्यासिफिक (एस्प्याक)का सचिव माइकल चुले नेपालमा किवानिज एसिया प्यासिफिक सम्मेलन हुनु आफैमा गर्वको कुरा रहेको भन्दै एसिया प्यासिफिक जोनका नागरिक नेपाल र नेपालीप्रतिको बुझाईमा अझ सकारात्मक भएका उल्लेख गरे ।

सम्मेलनमा १५ सय बढी प्रतिनिधि भित्र्याउने लक्ष्य रहेकामा विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण उपस्थिति कम भएको किवानिज इन्टरनेशनल नेपालका संस्थापक अध्यक्ष सुजनकुमार श्रेष्ठले बताए । किवानिज इन्टरनेशनल नेपालमा हालसम्म देशभर एक हजार ९२ सदस्य सहित ५१ किवानिज क्लव गठन भएको छ ।

यसपटक एसिया प्यासिफिकको अध्यक्षमा फिलिपिन्सका केन एलोभेरा, निर्वाचित अध्यक्षमा अष्ट्रेलियाका क्लिटन ग्रीन र उपाध्यक्षमा फिलिपिन्सका म्यारि बेल ग्रासिया चयन भएका छन् । यस्तै एसिया प्यासिफिक क्षेत्रबाट ट्रस्टीमा तीन बर्ष कार्यकाललाई जापानका बुहेता फुजिवारा र दुई बर्षका लागि फिलिपिन्सका विलफ्रेडो जी आगुइलार निर्वाचित भएका छन् ।

समाचार वर्गहरू