तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी दरबार हत्याकाण्ड भएको २५ वर्ष पुरा

48

काठमाडौँ । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो ।

राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्ड २५ वर्षसम्म पनि रहस्यमयको गर्भमै छ । त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्‍याए पनि त्यसलाई आमजनताले विश्वास गरेका छैनन् ।

तत्कालीन छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो। छानबिन समितिको तथ्यअनुसार युवराज दीपेन्द्रले नै राजा वीरेन्द्रको वंश नाश गरेको मानिन्छ।

तर, उक्त प्रतिवेदनको दाबीलाई धेरैले विश्वास नगरेको पाइन्छ। सत्ताको पुगेका नेताहरूले बाहिर बस्दा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने वाचा गरे पनि पदमा पुगेपछि तिनको प्राथमिकतामा कहिल्यै परेको देखिँदैन ।

हत्याकाण्डपछि सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्यायको​ संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो।

समितिका सदस्य तत्कालीन सभामुख तारानाथ रानाभाटले युवराज दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरी अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेका थिए। ‘आफूले मन पराएको युवतीसँग विवाह गर्न नपाएको झोकमा नशालु पदार्थ सेवन गरी राजपरिवारका सदस्यहरूलाई मारेको र आफूले पनि आत्महत्या गरेको’ व्यहोराको निष्कर्ष समितिले निकालेको थियो। यो प्रतिवेदनलाई अधिकांश नेपालीले विश्वास गर्न सकेका छैनन्।

उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ। उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सकेनन्।

२०६–६३ को जनआन्दोलन मार्फत पुनःस्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोस्यो। २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्रको अन्त्य भएको थियो । दरबार हत्याकाण्डपछि नारायणहिटी राजदरबारलाई संग्राहलयमा परिणत गरिएको छ।

समाचार वर्गहरू