बालेन्द्र साह नेतृत्व सरकार विरुद्ध आन्दोलनमा उत्रिन सवै पक्षलाई नेकपा संयोजक प्रचण्डको आह्वान

48

कैलाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार विरुद्ध आन्दोलनका लागि सबैलाई तयार गरिरहेको बताएका छन् । धनगढीमा जारी प्रथम एकता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनको आवश्यकता पैदा भएको बताएका थिए।

‘पूर्वदेखि पश्चिमसम्म भइरहेको सुकुम्वासी आन्दोलन स्वतःस्फूर्त होइन,’ उनले भने, ‘यसमा हाम्रो पनि पहल छ ।’ प्रचण्डले भारतबाट सय रुपैयाँ बढीको सामान ल्याउँदा कर लगाउने निर्णय गरेर सरकारले सीमाना भएका गरिब र निमुखा जनतामाथि अत्याचार गरेको टिप्पणी गरे ।

उनले वर्तमान सरकारले न्यायालयमाथि पनि हस्तक्षेप गरिरहेको बताए । ‘विद्यार्थी संगठन र ट्रेय युनियनको लोकतान्त्रिक अधिकारमाथि सरकारले तरबार चलाइरहेको छ,’ उनले भने, ‘त्यसविरुद्ध हामीले सबै राजनीति दल, नागरिक समाज र आम नागरिकलाई आन्दोलन गर्न तयार पारिरहेका छौं ।’

हिजोदेखि सुरू भएको नेकपाको परामर्श तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न संयोजक दाहालसहित सहसंयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, भीम रावल र रञ्जित श्रेष्ठ उपस्थित थिए । आज कार्यक्रम सकेर उनीहरू फर्किएका छन् ।

समाचार वर्गहरू