कसरी उम्किए दुर्गा प्रसाईं ?

65

काठमाडौँ — काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनका क्रममा गाडी चलाएर प्रहरीलाई पेल्दै निषेधाज्ञा उल्लंघन गरेका र भीडलाई हिंसक बन्न उक्साएका दुर्गा प्रसाईं रहस्यमय रूपमा फरार भएका छन् । अघिल्लो दिनदेखि नै निगरानीमा रहेको भन्दै आएको प्रहरीले शुक्रबारको हिंसात्मक घटनापछि पनि उनलाई पक्राउ गर्न नसकेको हो ।

हिंसात्मक घटनाका मुख्य नाइके प्रसाईं नै रहेको निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्ले शुक्रबार नै तत्काल पक्राउ गर्न गृह प्रशासनलाई निर्देशन दिएको थियो । प्रसाईं लुक्न सक्ने ठाउँमा उपत्यकाका तीनै जिल्लाका प्रहरी युनिटले खोजी गरिरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए । गृहमन्त्री रमेश लेखक प्रसाईं चाँडै पक्राउ पर्ने दाबी गर्छन् । कान्तिपुर टेलिभिजनमा राजावादीको समूहले पुर्‍याएको क्षति निरीक्षण गर्न शनिबार आएका बेला उनले भने, ‘खोजी कार्य भइरहेको छ, छिट्टै पक्राउ पर्छन् ।’

प्रसाईं शुक्रबार कोटेश्वरतर्फबाट हाइलक्स गाडी आफैं चलाएर प्रहरीलाई पेल्दै निषेधाज्ञा क्षेत्रमा अघि बढेका थिए । शान्तिनगरको पुल कटेपछि गाडीबाट ओर्लिएर उनी नजिकै एक घरको सटरभित्र लुकेका थिए । राजावादी जत्थाले अन्धाधुन्ध आगजनी, लुटपाट र तोडफोड गर्न थालेपछि प्रहरी शक्ति त्यसलाई नियन्त्रण गर्न केन्द्रित भएको मौका छोपेरप्रसाईं करिब साढे ४ बजेतिर सटरबाट निस्केर भागेका थिए । उनकै निजी सुरक्षा दस्ताले स्कारपियो गाडीमा चढाएर भगाएको फुटेज सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।

प्रसाईं नरेफाँट हुँदै भागेर लुभु र इमाडोलको बीचमा रहेको धर्मगुरु पुष्कर खतिवडाको घर पुगेका थिए । खतिवडालाई ललितपुर प्रहरीले शनिबार उनकै निवासबाट पक्राउ गरेको छ । ‘पुरानो चिनजान भएकाले प्रसाईंलाई मैले सहयोग गरेको हो । हामी दुवै झापाका हौं । म बुधबारेको, उहाँ बिर्तामोडको । म सामान्य जुलुसमा मात्रै गएको हुँ । म हिंस्रक होइन, धार्मिक मान्छे हो,’ खतिवडाको भनाइ उद्धृत गर्दै ललितपुर प्रहरी प्रमुख एसएसपी श्याम अधिकारीले भने, ‘उहाँ (प्रसाईं) र म सँगै एउटै गाडीमा मेरो घरमा आएका थियौं । उहाँ करिब १५ मिनेट मेरो घरमा बस्नुभयो । स्याउ र केरा खानुभयो । त्यसपछि मोबाइल बन्द गरेर निस्कनुभयो । कहाँ, कता जानुभयो, मलाई थाहा छैन ।’

खतिवडाको निवासमै रहेका बेला प्रहरीले खोजेका बेला आफू हाजिर हुने भन्ने सन्देश दिएर प्रसाईंले मोबाइल फोन अफ गरेका थिए । प्रसाईंलाई पक्राउ गर्नुपर्ने खबर भने शुक्रबार अबेर मात्र प्रहरीले पाएको गृहका अधिकारीहरू बताउँछन् । हिंसात्मक बन्न भीडलाई उक्साएको, तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले नेताहरू धवलशमशेर राणा, रवीन्द्र मिश्र, स्वागत नेपाललगायतलाई शुक्रबार नै पक्राउ गरेको थियो ।

प्रसाईं प्रहरीको नियन्त्रणमा रहेको अनौपचारिक सूचना प्रहरीका उच्च अधिकारीहरूले शुक्रबार नै दिएका थिए । ‘प्रसाईं प्रहरी नियन्त्रण बाहिर छैनन् । स्थिति तत्काल नभड्कियोस् भनेर मात्रै जानकारी नगराइएको हो, बिस्तारै प्रहरीकामा लगिनेछ,’ प्रहरीका एक उच्च अधिकारीले शुक्रबार कान्तिपुरसँग भनेका थिए । तर शनिबार बिहान तिनै अधिकारीले खोजी कार्य भइरहेको प्रतिक्रिया दिएका थिए । ‘यसले प्रसाईंलाई जानीबुझी भगाइएको त होइन भन्ने प्रश्न उब्जेको छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘शनिबार साँझसम्म उनलाई फेला पार्न नसकेपछि उपत्काका कटिसकेको अनुमान गरेका छौं ।’

प्रसाईंले उपत्यका काटेको सूचना पाएपछि गृहमन्त्री लेखकले उच्च सुरक्षा अधिकारीहरूलाई बोलाएर भारतसँग जोडिएका सबै नाकामा समेत कडा निगरानी बढाउन निर्देशन दिएका छन् ।

यसै सन्दर्भमा आइतबार गणतन्त्रवादी दलहरूको संयुक्त बैठक बस्ने र त्यसको निष्कर्षका आधारमा सरकारले थप कदम चाल्ने तयारी छ । कान्तिपुर दैनिक

समाचार वर्गहरू