अन्नबाली छाडेर कागतीखेतीमा कृषक

28

रासस/रामपुर – धान, मकै, गहुँलगायतका अन्नबाली उत्पादन हुने जग्गामा पाल्पाको रामपुर नगरपालिका–७ बस्ने कृषक मनोरथ भट्टराईले कागतीखेती शुरु गरेका छन् । अन्नबालीको तुलनामा कागतीखेतीले राम्रो फाइदा हुने सम्भावना देखेपछि उनले व्यावसायिक तवरले कागती लगाएका हुन् । उनले करिब सात रोपनी क्षेत्रफलमा ४०० बोट कागती लगाएका छन् ।

बजारमा कागतीको बढ्दो माग र यसबाट राम्रो कमाई समेत गर्न सकिने भएपछि भट्टराईले व्यावसायिक तवरले कागती लगाएका हुन् । चार वर्ष अघिदेखि कागतीखेती शुरु गरेका भट्टराईले अब १०० बोट थप गरी ५०० बोट पु¥याउने लक्ष्य लिएका छन् । “राम्रै धान, मकै, गहुँ फल्ने जग्गा छ, अन्नबाली लगाएर निर्वाहमुखी मात्र भइयो, अब कागती लगाएर आम्दानी गर्ने सोच बनाएको छु” भट्टराईले भने ।

कागतीले धानको तुलनामा तेब्बर बढी आम्दानी दिने भएकाले दीर्घकालीन आयस्रोत लिन कागती लगाउन थालेको उनले बताए । “राम्रो स्याहार संरक्षण गरेपछि एउटा बोटमा दुई हजार कागती उत्पादन लिन सकिन्छ, त्यसमा पनि एक हजार फले पनि ५०० बोटबाट वर्षमा कम्तीमा पनि सजिलोसँग रु १० लाख त कमाउन सकिन्छ”, उनले भने । उनले वर्षमा ४० मुरी धान उत्पादन हुने खेतभरि अहिले कागती लगाएर हरियाली बनाएका छन् ।

रामपुर नगरपालिका कृषि शाखाले अनुदानमा कागतीका बिरुवा उपलब्ध गराउन थालेपछि कागतीखेतीमा कृषकको आकर्षण बढ्दो रहेको कृषि शाखा प्रमुख तथा सूचना अधिकारी रामप्रसाद पाण्डेयले जानकारी दिए ।

आर्थिक वर्ष २०७५÷७६ मा स्थानीय जातका तीन हजार ५००, सुन कागती एक हजार ५०० बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी पाण्डेयले बताए । उनका अनुसार रामपुर नगरपालिका क्षेत्रमा करीब २४ जना जति कृषक कागतीखेतीमा आबद्ध रहेका छन् ।

समाचार वर्गहरू