काठमाडौं – सत्तारुढ दल नेकपा एमालेलाई पार्टी कार्यालय निर्माण गर्न भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले दान गरेको जग्गासम्बन्धी रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
साथै सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेशसमेत दिएको छ। अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।
भाटभटेनीका सञ्चालक गुरुङले एमाले पार्टी कार्यालयका लागि कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा १० रोपनी १४ आना जग्गा दान गरेका थिए। गुरुङले दान गरेको जग्गामा पार्टी कार्यालय निर्माणका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले २५ असोजमा शिलान्यास गरेका थिए।
गुरुङ दम्पत्तीले दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका छन्।
भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट घुसवाफत जग्गा दान लिएको भन्दै प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको छ। पार्टीका नेता तथा कार्यकर्ताहरूले समेत अभियोग लागेका व्यक्तिबाट जग्गा लिन नहुने भन्दै विरोध गरेका छन्।