काठमाडौं – नेकपा एमालेकाे स्थायी कमिटी बैठक साेमवार बिहान १० बजेसम्मका लागि स्थगित भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतवार) बेलुका ५ बजे बैठक बोलाइएकाे भए पनि सोमबार बिहान १० बजेसम्मका लागि स्थगित भएकाे माले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आजको बैठकमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने थप १२ जना नेतालाई थप कारबाहीबारे छलफल गरेर निर्णय हुन सक्ने बताइएकाे थियाे । यस्तै शनिवार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने तय भएकाे सचिव शेरबहादुर तामाङले जानकारी दिएका थिए ।
यसअघि एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने ११ जना सांसदलाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्दै १२ सांसदसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण सोध्ने निर्णय गरेको केही दिनपछि मात्रै एमालेले थप १२ जनालाई स्पष्टीकरण पत्र पठाएको थियो ।