काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुने वा नहुने भन्ने निर्णय गर्न रामचन्द्र पौडेल पक्षको बेग्लै बैठक बसेको छ । बैठकमा सहभागि हुने वा नहुने निर्णय गर्न पौडेल समूह अहिले पौडेलको निवास बोहोराटारमा छलफलमा जुटेको छ ।
१४ औं महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिको बैठकमा मुख्य एजेन्डा बनाउनुपर्ने माग गर्दै पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको छ । बिहीबारको बैठक बहिष्कार गरेका पौडेल हिजो आइतबारको बैठकमा पनि सहभागि भएनन् ।
महाधिवेशनको कार्यतालिका बैठकमा पेश गर्नुपर्ने माग राखेको पौडेल पक्षले नेपाल विद्यार्थी संघ र तरुण दलमध्ये एकको नेतृत्व दिनुपर्ने, २८ वटा विभाग मात्रै बनाउनुपर्ने र क्रियाशील सदस्यता छानबिन समिति गठन गर्नुपर्ने लगायतका माग थप गरेको छ ।
पौडल पक्षलाई मनाउन आज बिहान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडल पक्षका नेताहरु प्रकाशमान सिंह निवास चाक्सीबारीमा भेला भएका थिए ।