काठमाडौं – कैलालीमा चुनावी तालमेलका लागि गठबन्धन दलबीच सहमति नहुने भएको छ । शनिबार छैठौं पटक बसेको बैठक पनि बिना निष्कर्ष टुङ्गीएपछी जिल्लाले सहमतिको प्रयास नगर्ने भएको छ।
बैठकमा सहभागि राष्ट्रिय जनमोर्चाका कैलाली अध्यक्ष जगतराज जोशीले बताए अनुसार जिल्ला तहबाट भागबण्डाको कुरो नमिलेपछि दलहरूको दाबीसहितको विवरण गठबन्धनको प्रदेश समितिमा पठाउने निर्णय गरिएको छ।
शनिबार बसेको चार दलबीचको बैठकमा सबै दलले आआफ्नो अडान कायमै राखेपछि सहमति जुट्न नसकेको हो। चुनावी तालमेलका लागि शनिबार बसेको बैठकमा नेपाली कांग्रेसले जिल्लाका १३ मध्य १०, नेकपा माओवादीले ६ र एकीकृत समाजवादीले चार स्थानीय तहमा दाबी गरेको थियो।
कांग्रेसले यसअघि पालिका तोकेर आफ्नो दाबी भने गरेको थिएन। तर, शनिबार भने १३ मध्य धनगढी उपमहानगरपालिका सहित १० पालिका आफूले पाउनु पर्ने भन्दै दाबी गरेको हो। यसैगरी नेकपा माओवादी केन्द्रले पनि यसअघि दुई (कैलारी गाउँपालिका र भजनी नगरपालिका)मा मात्रै दाबी गर्दै आएकोमा शनिबारको बैठकमा भने ६ पालिकामा दाबी गरेको छ।
एकीकृत समाजवादीले यसअघि पाँच पालिकामा दाबी गर्दै आएकोमा शनिबार चार पालिकामा दाबी गरेको बैठकमा सहभागि राष्ट्रिय जनमोर्चाका कैलाली अध्यक्ष जगतराज जोशीले बताए।
केन्द्रमा पाँच दलीय गठबन्धनमै रहेको जसपा भने कैलालीमा गठबन्धनबाट बाहिरि सकेको छ।