खच्चड फसेको पुल प्रयोगमा रोक लगाउँदा एक सय बढी विद्यार्थी प्रभावित

5

काठमाडौं – एउटा लट्ठा चुँडिएर कोल्टिँदा खच्चड फसेको घटनापछि कर्णाली नदीमाथिको झोलुंगे पुलमा आउजाउ बन्द गरिएको छ ।

उक्त पुलबाट आवतजावत गर्न जोखिम भएको भन्दै अछाम र दैलेखका जिल्ला प्रशासनको सहकार्यमा बन्द गरिएको हो ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडा र दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला जोड्ने उक्त पुलको प्रयोगमा रोक लगाइएपछि झन्डै एक सय विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् ।

आइतबार खाद्यान्न बोकेर जाँदै गरेका १४ खच्चड लट्ठा चुडिँदा उक्त पुलमा फसेका थिए । स्थानीय र सुरक्षाकर्मीले १२ को जीवितै उद्धार गरेका थिए भने दुई खच्चड मरेका थिए ।

पुलमार्फत आवागमन बन्द गरिएपछि दैलेख र अछामका विद्यार्थी बढी मारमा परेका छन् । अछामको पञ्चदेवल विनायकमा रहेको चण्डिका माविमा दैलेखका आठबिस–४, ५ र ६ का ९५ जनाभन्दा बढी विद्यार्थी सो पुल तरेर पढ्न जाने गरेका थिए ।

पारि दैलेखबाट आउने विद्यार्थी रोकिएपछि भने कम्तीमा २० दिन जति विद्यालय बन्द गर्ने प्रस्ताव राखेको पञ्चदेवल विनायक–९ का वडाध्यक्ष रामप्रसाद जैसीले बताए । वडाध्यक्ष जैसीले भने, ‘छिमेकी जिल्लाका विद्यार्थीलाई पढाइबाट वञ्चित गर्नु हुँदैन भन्ने सबैको भनाइ छ । शिक्षा समितिबाट प्रस्ताव आएर कार्यपालिकाले छिट्टै निर्णय गर्नेछ ।’

पारिबाट विद्यालय आउन वैकल्पिक बाटोबाट कम्तीमा तीन घण्टा हिँड्नुपर्ने बाध्यता रहेको उनले बताए । जैसीका अनुसार जीर्ण बनेको उक्त पुलबाट करिब २ सय मिटर दूरीमा अर्को पुल द्रुत गतिमा बन्ने क्रममा रहेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू