काठमाडौं – निर्वाचन आयोगले चुनावी खर्च विवरण समयमै सार्वजनिक नगर्ने उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ।
मंगलबार आयोगले सूची सार्वजनिक गर्दै प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी जम्मा २ हजार ४ सय ३५ जनालाई आयोगले १५/१५ हजारका दरले जरिवाना तिर्न निर्देशन समेत दिएको छ ।
साथै सात दिनभित्र खर्च विवरण सार्वजनिक गरी आयोगलाई जानकारी गराउन आयोगले निर्देशन दिएको छ ।
यसरी खर्च विवरण नबुझाउनेमा बहालवाला मन्त्री, सांसददेखि पार्टीका जिम्मेवार पदाधिकारीहरुसम्म छन् । खर्च विवरण नबुझाउनेहरुको सूचीमा संघीय सरकारका चार मन्त्रीको नाम छ ।
सनुसरी-१ बाट चुनाव जितेका जसपाका नेता रहेका शिक्षामन्त्री अशोक राई, कञ्चनपुर-२ बाट चुनाव जितेर हाल परराष्ट्रमन्त्री रहेका कांग्रेसका एनपी साउद, लोसपाबाट महत्तोरी-२ मा चुनाव जितेका श्रममन्त्री शरतसिंह भण्डारी र माओवादी केन्द्रबाट सर्लाही-३ मा चुनाव जितेका खानेपानीमन्त्री महिन्द्रराय यादवसमेत छन् ।
खर्च विवरण सार्वजनिक नगर्ने सूचीमा कांग्रेसका महामन्त्री रहेका काठमाडौं -४ का सांसद गगन थापा, कञ्चनपुर-३ का सांसदसमेत रहेका कांग्रेस प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-२ की सांसद सोविता गौतमदेखि महोत्तरी लोसपाका अध्यक्ष महन्थ ठाकुरसमेत छन् । नवलपरासीबाट चुनाव जित्ने अर्बपति व्यपारीसमेत रहेका कांग्रेस सांसद विनोदकुमार चौधरीसमेत समयमा खर्च विवरण समयमै सार्वजनिक नगर्नेको सूचीमा छन् ।
चुनाव हार्नेहरुमा काठमाडौं-२ माओवादी केन्द्रकी नेता समेत रहेकी पूर्वसभामुख ओनसरी घर्ती, माओवादी केन्द्रकै उपाध्यक्ष पूर्वमन्त्री पम्फा भुसाल, उपमहासचिव तथा पूर्वमन्त्री गिरीराजमणि पोखरेलले पनि छन् । काठमाडौं-१ बाट चुनाव लडेका राप्रपाका रवीन्द्र मिश्र, एमालेका किरण पौडेल, काठमाडौं-४ बाट चुनाव लडेका एमालेका राजन भट्टराईले पनि खर्च विवरण नबुझाएपछि १५ हजार जरिवानामा परेका छन् । कांग्रेस विजयकुमार गच्छदार, उमाकान्त चौधरीदेखि पूर्वमन्त्री हृदयेश त्रिपाठीसम्मले समयमा खर्च विवरण समयमै सार्वजनिक नगर्नेको सूचीमा छ ।
हालसम्म प्रतिनिधिसभाका २ हजार ३ सय ७३ जना र प्रदेशसभाका ५ हजार ५ सय ६१ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाएको पनि आयोगले जनाएको छ । यस्तै आयोगले ७४ जना उम्मेदवारहरूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । जसअन्तर्गत प्रतिनिधिसभा निर्वाचनका ३७ उम्मेदवार र प्रदेशसभाअन्तर्गत ३७ उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो ।
सूची