काठमाडौं – जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा)लाई दिने निर्णयको विरोध गर्ने कांग्रेसका कार्यकर्ताहरुले बताएका छन्।
नेपाली कांग्रेस जनकपुरधामका नगर सभापति मनोज साहले केन्द्रमा गठबन्धनले गरेको निर्णयलाई आफूहरुले नमान्ने बरु त्यसको विद्रोहमा उत्रने चेतावनी दिए।
‘गठबन्धनको यो निर्णय नेपाली कांग्रेसलाई आघात पुर्याउने हिसाबले गरिएको छ। हामी यो निर्णयलाई मान्न बाध्य छैनौं। निर्णयको घोर भर्त्सना गर्नुका साथै कडा विरोध गर्छौं,’ सभापति साहले भने, ‘हामीले केन्द्रीय निर्णयको विरोध गर्छौं। यो निर्णयविरुद्ध वडा समिति, नगर समिति, क्षेत्रीय समिति सबै आक्रोशित छन्।’
नगरसभापति साहले स्वतन्त्ररुपमा उम्मेदवारी दिनुपर्ने अवस्था आए त्यहाँबाट समेत पछाडि नहट्ने चेतावनी दिए। उनले शीर्ष नेताहरुसँग छलफल गरेर आगामी रणनीति तयार गर्ने र गठबन्धनको विरोधमा उत्रने चेतावनी दिए।
यता नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले बिहीबार नेता कार्यकर्ताहरुबीच छलफल गरेर आगामी योजनाको विषयमा निर्णय गर्ने जानकारी दिए।